नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकतर्फी निर्णय गर्नु गलत भएको बताएका छन् । ओलीको कदमले पार्टी एकताको पक्षमा रहेका देशभरका कार्यकर्ताको मनोविज्ञानमा गम्भीर प्रहार गरेको भट्टराईले बताए ।
आइतबार ताप्लेजुङमा पत्रकारहरुसँग कुराकानी गर्दै एमाले सचिव भट्टराईले भने, ‘एकपक्षीय सबै निर्णयहरु खारेज , सहमतिमा फर्किनुपर्छ ।’ पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले नेताले २ जेठ २०७८ मा बनाएको कार्यदललाई सक्रिय बनाएर पार्टीलाई २०७५ जेठ २ अगाडि फर्काएर समाधान खोज्नुपर्ने उनले बताए ।
संसदीय व्यवस्थामा एउटा दलको सांसद भएर अर्को दलको नेतालाई प्रधानमन्त्री बनाउन जानु गलत भए पनि त्यो मात्र संसद पुनर्स्थापना गर्ने उपाय भएको उनले बताए । अब सर्वोच्च अदालतले जे फैसला गरे पनि एमालेलाई एकतावद्ध बनाउने र एक ठाउँमा उभिने वातावरण बनाउनुपर्ने उनले बताए ।
पार्टी अध्यक्ष ओलीले भने जस्तो हस्ताक्षर फिर्ता लिने प्रावधान नै नरहेको र अबको एकाध दिनमा फैसला आउने उनले बताए । अध्यक्ष ओली उदार भएर पार्टी एकताको पक्षमा उभिनुपर्ने भन्दै उनले भने, ‘पार्टीका तमाम समस्या हल हुन्छ भने सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनर्स्थापना भए एमाले एक ठाउँमा उभिनुपर्छ । पुनर्स्थापना भएन भने एमाले एक ठाउँमा उभिएर चुनावमा जानुपर्छ ।’
Leave a Reply