प्रदेश १ प्रदेशसभाको बैठक नेकपा माओवादी केन्द्रले अवरुद्ध गरेको छ । आइतबार बसेको १६औं प्रदेशसभा बैठक माओवादी केन्द्रले अवरुद्ध गरेको हो । माओवादी केन्द्रबाट बैठक अवरुद्ध भएपछि बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ।
बजेटमाथिको छलफल चलिरहेको प्रदेशसभा बैठकमा गत आइतबार प्रदेश १ का भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङ गृह जिल्ला ओखलढुङ्गाका माओवादी केन्द्रका सांसद मोहन खड्कामाथि व्यक्तिगत रुपमा खनिएका थिए ।
संसदीय मान्यता विपरित सांसदमाथि खनिएका मन्त्रीले माफी माग्नुपर्ने बताउँदै मन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनु पर्ने माग माओवादी केन्द्रको छ । तर, सत्ता पक्ष तयार नहुँदा संसदमा अवरोध कायम रहेको माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए ।
संसद अवरुद्ध भएपछि असार १५ गते सभामुख प्रदिपकुमार भण्डारीले छलफलका लागि भन्दै पाँच दिनका लागि बैठक सारेका थिए । तर, यो पाँच दिनमा दुई पटक छलफल भए पनि सहमतिमा पुग्न सकेको छैन ।सत्तापक्षले आफूहरुको माग कार्यान्वयन नगरेपछि बैठक अवरुद्ध गरेको माओवादी केन्द्र नेता आङ्बोले बताए ।
मन्त्रीले माफी मागेपछि मात्रै संसदको कामकारवाही अघि बढ्ने आङ्बोले बताए । आइतबार संसद अवरुद्ध भएपछि मुख्यमन्त्री शेरधन राईले सर्वपक्षीय छलफल गरेका थिए । छलफलमा कुनै निष्कर्ष ननिस्किएको आङ्बोको भनाइ छ।
Leave a Reply