एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका २३ सांसदले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता गर्न दिएको अल्टिमेटम आज बेलुका ५ बजे सकिँदैछ ।
माधव नेपाल पक्षका २३ जना सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा हस्ताक्षरसहित संयुक्त रिट निवेदन हालेका थिए । अहिले अदालतमा अन्तिम रुपमा विचाराधीन रहेको उक्त रिटबाट आफू फिर्ता हुनू भनेर एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता नेपालई अल्टिमेटम दिएका थिए ।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले उक्त रिट निवेदनबाट पार्टीका सांसदहरुको हस्ताक्षर फिर्ता गराउन भन्दै नेता माधवकुमार नेपाललाई आज (सोमबार) सम्मको समयसीमा (अल्टिमेटम) दिएका थिए । तर नेता नेपाल भने अब कुनै पनि हालतमा हस्ताक्षर फिर्ता नहुने अडानमा छन् ।
अध्यक्ष ओली पक्षले भने गत शुक्रबार बसेको केन्द्रीय समिति बैठकमार्फत् पार्टी एकताका लागि असार २१ गते सोमबार बेलुका ५ बजेसम्म ती हस्ताक्षर फिर्ता लिइसक्न अल्टिमेटम दिएको छ । साथै यस अवधिमा हस्ताक्षर फिर्ता नलिए उनीहरु एमाले नै नरहने र पार्टी निषेध गरेरै अगाडि बढ्ने चेतावनी समेत उक्त बैठकमार्फत् दिइएको छ ।
तर ओलीको अल्टिमेटममा माधव पक्षले अटेर गरेको छ । हस्ताक्षर फिर्ता नगर्ने जवाफ उक्त पक्षले दिइसकेको छ र ओलीसँग भेट्न समेत माधवले अस्वीकार गरेका छन् । ओलीले अब माधव नेपालसहितका हस्ताक्षर गर्ने नेताहरु पार्टीबाटै निष्काशन गर्न सक्ने बताइएको छ ।
प्रतिनिधिसभा विघटन असंवैधानिक रहेकोले पुनस्र्थापना गरी देउवालाई प्रधानमन्त्रीमा नियुक्तिको आदेश माग गर्दै कांग्रेस, माओवादी, जसपालगायतको गठबन्धनका १४६ सांसदले सर्वोच्चमा संयुक्त रिट दर्ता गराएका थिए । जसमा निवेदनमा एमालेको माधव पक्षका २३ सांसदको पनि हस्ताक्षर छ ।
Leave a Reply