प्रधानमन्त्री केपी शर्मा ओली शनिबार सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु बाढी प्रभावित क्षेत्रको निरीक्षणमा निरीक्षण गर्ने भएका छन् ।शनिबार बिहान साढे १० बजे हेलिकप्टरबाट प्रधानमन्त्री सिन्धुपाल्चोक जाने कार्यक्रम छ ।
बाढीबाट क्षति पुर्याएको मेलम्ची खानेपानी आयोजना लगायत सिन्धुपाल्चोकका विभिन्न ठाउँ र बस्तीको निरीक्षण गर्न प्रधानमन्त्री शनिवार नेपाली सेनाको हेलिकप्टरमार्फत सिन्धुपाल्चोक जाने कार्यक्रम तय भएको प्रधानमन्त्री ओलीका विकास व्यवस्थापनविज्ञ गजेन्द्र थपलियाले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढीले पुर्याएको क्षतिका साथै हेलम्बु गाउँपालिकाको बाढीपहिरो प्रभावित विभिन्न ठाउँको हवाइ निरीक्षण गर्नेछन् । प्रधानमन्त्रीबाट पीडितलाई राहत वितरण तथा घोषणाको कार्यक्रम रहेको विज्ञ थपलियाले जानकारी दिए । उनका अनुसार बाढी प्रभावित क्षेत्रका लागि विभिन्न राहत घोषणाको तयारी गरिएको छ ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले प्रधानमन्त्रीबाट शनिबार सिन्धुपाल्चोकको विभिन्न स्थानमा हुने निरीक्षणको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए । मेलम्ची बजार र हेलम्बुको गणेश बगर भन्ने स्थानमा आयोजना गरिने कार्यक्रममा प्रधानमन्त्री ओलीको सहभागिता रहने उनको भनाइ छ ।
प्रजिअ पोखरेलका अनुसार कार्यक्रममा प्रधानमन्त्रीसँग बाढीपहिरो पीडित, जनप्रतिनिधि, राजनीतिक दलका नेता कार्यकतासँग अन्तरक्रिया कार्यक्रमसमेत तय गरिएको छ ।
असार १ गते आएको बाढी र पहिरोमा परेर सिन्धुपाल्चोकमा कम्तिमा २४ जनाको मृत्यु भएको छ ।
Leave a Reply