एमाले कार्यदलको बैठक आज पनि बस्दै, सहमतिको दस्ताबेज सार्वजनिक गर्ने तयारी

 ग्लोबल टिभि      शनिबार, असार २६, २०७८      0

नेकपा एमालेको विवाद समाधानका लागि गठन भएको कार्यदलको बैठक आज पनि बस्दै छ । १० दिनदेखि लगातार छलफलमा रहेको नेकपा एमालेको कार्यदलले विवाद समाधानका लागि सहमति नजिक पुगेको दावी गरेको छ ।

कार्यदलले आजै विवाद समाधानको दस्ताबेजमा हस्ताक्षर गरेर सार्वजनिक गर्ने पनि जनाएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित नपार्ने, सर्वोच्च अदालतले दिने फैसलालाई स्वीकार गर्ने , प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन पार्टीका सांसदले गरेको हस्ताक्षर फिर्ता नगर्ने समझदारीसहित निसर्त २०७५ जेठ २ अगाडिको पार्टी संरचना ब्युँताउने सहमति भएको छ ।

पार्टी विभाजनको सम्भावित संकट टार्न एमालेका दोस्रो तहका नेताहरू सम्मिलित १० सदस्यीय कार्यदलले माओवादी केन्द्रसँग एकता हुनुअघिका संरचना क्रियाशील गराउनेलगायतका विषयमा सहमतिको मस्यौदा तयार गरेको जनाएको छ ।

वरिष्ठ नेता माधव नेपाल समूहले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा प्रयोग भएको हस्ताक्षर फिर्ता नलिने अडान राखेपछि त्यसबारे कस्तो भाषामा सहमति खोज्ने भन्ने विषय भने टुंगिन बाँकी छ ।

त्यसैगरी प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीचको शक्ति बाँडफाँटको विषय टुंगिएपछि मात्र सहमतिले मूर्त रुप पाउने कार्यदलका सदस्यहरुले जनाएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *