काठमाडौँ : नेकपा एमालेका नेता वामदेव गौतमले संविधान संशोधन गरेर राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री बन्न पाउने व्यवस्था गर्नुपर्ने बताएका छन् ।
आइतवार राष्ट्रिय सभाकोे बैठकमा सांसद गौतमले संविधान संशोधन गरेर भए पनि राष्ट्रिय सभा सदस्यलाई प्रधानमन्त्री बनाउने व्यवस्था राख्नुपर्ने बताएका हुन् । उनले विषयमा आवाज उठाउँदा आफ्नो चरित्रहत्या भएको गुनासो गरे ।
‘संसारमा हाम्रो देशमा मात्रै त्यो बेलायतको नक्कल गरेको हुनाले राष्ट्रिय सभाकाहरूले शासन गर्नु पर्दैन भन्ने त्यसको ठाडो नक्कल भयो’, उनले भने, ‘त्यो हटाइदिनुस्, संविधान संशोधन गर्नुस् भन्दा मेरो यति धेरै चरित्र हत्या भयो । म आज फेरि पनि उठाउन चाहन्छु ।’
सांसद गौतमले अर्थमन्त्री विष्णु पौडेलले संसद नभएको अवस्थामा बन्द कोठाभित्र बजेट पेश गरेको भन्दै आपत्ति जनाए । उनले नियमावली परिवर्तन गरेर भए पनि आर्थिक वर्ष ७८\७९ को बजेट राष्ट्रिय सभामा ल्याएर पेश गर्न आग्रह गरे ।
‘बाहिर कोठाभित्र प्रस्तुत गरेको ७८\७९ को बजेट वक्तव्य फेरि आएर अर्थमन्त्रीले यहाँ प्रस्तुत गर्नुस्’, उनले भने, ‘हामीले छलफल गर्न पाऊँ । र यहाँबाट पारित हुने व्यवस्था गरौँ । नियमावालीमा परिवर्तन गर्नुपर्छ भने गरौँ ।’
परक प्रसंगमा गौतमले सर्वोच्च अदालतल माओवादी केन्द्र र एमाले ब्युँतिएको अवस्थामा आफूले नेकपा(एमाले) रोजेर बैठकमा समेत उपस्थित भएको प्रष्टीकरण दिए । आफू केपी ओलीतिर नभई एमाले भएको प्रमाण पेश गर्न बैठकमा गएको उनको भनाइ छ ।
‘धेरै मानिसले वामदेव केपी तिर गयो भनेर भने । मैले यो सभा मार्फत् हाम्रो देशका सबै जिम्मेवार राजनीतिज्ञलाई, जनतालाई, नागरिकलाई जानकारी गराउन चाहन्छु, म कुनै तर्फ गएको होइन’, उनले भने, ‘म एमाले भएको प्रमाण पेश गर्न म गएको हो ।’
सांसद गौतमले सत्तारुढ नेकपा(एमाले)ले गरेको अराजनीतिक क्रियाकलाप, संविधान र ऐन, नियम कुल्चने क्रियाकलापले नेपाली जनताको शिर निहुरिएको प्रतिक्रिया दिए ।
Leave a Reply