प्रधानमन्त्री केपी शर्मा ओलीले साफ च्याम्पियन्स आयोजना गर्ने अवसर पाएमा सघाउने बताएका छन् । आगामी सेप्टेम्बर १४ देखि २४ सम्म बंगलादेशमा आयोजना भएको साफ च्याम्पियन्स अनयौलमा छ।
कोरोना संक्रमण बढेको भन्दै आयोजना अनिश्चित बनेको बेला प्रधानमन्त्री ओलीले अवसर पाए नेपालले गर्न सक्ने बताए ।
आइतबार बिहान बालुवाटारमा थ्री नेसन्स कपको विजेता टोलीलाई नगदसहित सम्मान गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालले खेल्नका लागि मात्र नभएर जित्नका लागि साफ आयोजना गर्नुपर्ने बताए। प्रधानमन्त्रीबाट साफ च्याम्पियनसिप आयोजनाका लागि ‘ग्रीन सिग्नल’ पाएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले सरकारसँग ३ करोडभन्दा बढी रकम माग गरेको छ ।
अब हुने साफको बैठकमा साफ च्याम्पियनसिप आयोजनाका लागि एन्फाले दाबेदारी पेश गर्ने जनाएको छ । एक साता अघि मात्रै दक्षिण एसियाली फुटबल महासंघ साफले सदस्य राष्ट्रहरुसँग भर्चुअल बैठक गर्दै दुई सातापछि यसबारे निर्णय गरिने जनाएको थियो ।
साफका महासचिव अनवरुल हक हेलालले प्रतियोगिताका लागि अगष्ट ३१ देखि सेप्टेम्बर ७ सम्मको नयाँ मिति प्रस्ताव गरिएको बताएका थिए ।
तोकिएकै समयमा साफ आयोजना भएमा ५ टिमले मात्र प्रतिस्पर्धा गर्नेछन् । भुटानले यस वर्षको साफ च्याम्पियनसिप नखेल्ने बताइसकेको छ। उता,पाकिस्तान अहिले फिफाको प्रतिबन्धमा छ । त्यसैले यसपटक साफ भएमा बंगलादेश, नेपाल, भारत, माल्दिभ्स र श्रीलंकाले लिगका आधारमा प्रतिस्पर्धा गर्ने सम्भावना छ ।
Leave a Reply