मध्यरातमा संसद अधिवेशन अन्त्य गरेर लुम्बिनी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको छ ।
शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।
प्रदेश सरकारको आज बिहान बसेको मन्त्रिपरिषदले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख धर्मनाथ यादवले अर्थ र विनियोजन अध्यादेश जारी गरेका हुन् ।
‘असार १ गते प्रदेश सभामा पेश गरेको बजेट जस्ताको तस्तै अध्यादेशमार्फत ल्याइएको छ ।
सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट प्रदेश सभामा पेश गरेको थियो । जसमा चालूतर्फ १४ अर्ब ९३ करोड र पुँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
बजेटको धेरै हिस्सा स्वास्थ्य, कृषि र पर्यटन केन्द्रित छ । तर बजेट पारित गर्न सरकारसँग बहुमत नपुगेपछि बिहीबार सत्ता पक्षले नै प्रदेश सभा बैठक बहिस्कार गरेर हिंडेको थियो ।
संसद अधिवेशन अन्त्य गरेर अध्यादेश मार्फत बजेट ल्याएको भन्दै कांग्रेसले विरोध जनाएको छ । विरोधका बीच सहमतिको बाटो खोज्नको सट्टा अध्यादेशको बाटो रोज्नु तानाशाह प्रवृति भएको कांग्रेस सांसद निर्मला क्षेत्रीले भनिन् ।
Leave a Reply