बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले प्रधानमन्त्री शेरबहादुर देउवालाई ढाका भ्रमणको निम्तो दिएकी छन् ।शुक्रबार देउवालाई प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई दिँदै समकक्षी हसिनाले कार्यकाल सफलताको कामना गरेकी छन् ।
प्रधानमन्त्री देउवालाई पठाएको बधाई सन्देशमा बंगलादेशी प्रधानमन्त्रीले संसद्मा देउवालाई प्राप्त अत्यधिक मत नेपाली जनता र नेपालको राजनीतिक नेतृत्वले उनीमाथि गरेको विश्वास र भरोसाको प्रमाण भएको उल्लेख गरेकी छन् ।
निकटको छिमेकीको नाताले बंगलादेश र नेपालबीच सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै उनले सन्देशमा त्यो सम्बन्ध बहुसमानता र एकअर्कालाई जोड्ने साझा सम्पर्कमा आधारित रहेको उल्लेख गरेकी छन् ।
बंगलादेश र नेपालबीच विविध क्षेत्रमा विद्यमान सहयोगलाई प्रधानमन्त्री देउवाको सक्षम नेतृत्वमा अझ सुदृढ तुल्याउन तथा उपयोग नगरिएका सहयोगका सम्भावित क्षेत्र पहिचान गरी द्विपक्षीय सहयोग एवम् सहकार्य घनिभूत हुने विश्वास प्रधानमन्त्री हसिनाले व्यक्त गरेकी छन् ।प्रधानमन्त्री देउवालाई उनले उपयुक्त समयमा यथासक्य चाँडो बंगलादेश भ्रमणका निम्ति आमन्त्रण पनि सोही सन्देशमार्फत गरेकी छन् ।
Leave a Reply