अध्यक्ष दाहालले राजनीतिक एवं सांगठनिक प्रतिवेदन पेश गर्ने
नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो हुने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन एवं सांगठनिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।
बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी संगठनको अवस्थाका बारेमा छलफल हुने गरी प्रस्ताव तय भएको माओवादी केन्द्रले जनाएको छ ।
प्रतिवेदनमा पार्टीको राजनीतिक कार्यदिशालाई स्पष्ट पार्ने, अहिले प्रतिगमनविरोधी संघर्ष र कम्युनिस्ट आन्दोलनमा देखापरेको विसर्जनवादी प्रवृत्तिविरुद्धको संघर्षलाई दृढतापूर्वक अघि बढाउने उल्लेख रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
यस्तै प्रतिगमनप्रति सजग रहँदै संविधानको रक्षा र कार्यान्वयनका निम्ति वामशक्तिहरुबीचको सहकार्यलाई अगाडि बढाउने पनि प्रतिवेदनमा उल्लेख छ ।
माओवादी केन्द्रले वर्तमान गठबन्धन सरकारलाई सफल बनाउन आफ्नो तर्फबाट अधिकतम प्रयास गर्ने विषयमा पछि छलफल गर्नेछ ।
Leave a Reply