काठमाडौं ।सांसदहरुलाई दशैं खर्च बाँड्ने तयारी भएको भनि समाचार सार्वजनिक भैरहेका बेला सांसदहरुलेनै त्यस्को बिरोध गरेका छन् ।
काठमाडौं क्षेत्र नं ६ का सांसद भीमसेनदास प्रधानले महामारीका बेला सांसदहरुलाई दशैं खर्च नबाँड्न संसद सचिवालयसँग माग गरेका छन् ।
कोरोना महामारीले देश आहत भएका बेला पनि सांसदहरुलाई दशैं खर्च उपलब्ध गराउन लागिएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै सांसद प्रधानले यसवर्ष सांसदहरुलाई दशैं खर्च नदिन माग गरेका हुन् । सांसद प्रधानले भने, यस्तो महामारीका बेला सांसदलाई दिने दशैं खर्च कोरोना नियन्त्रणका लागि खर्च गर्नुपर्यो । अहिले बिरामीले अक्सिजन पाइरहेका छैनन् । सरकारले बजेट अभाव छ भनेर भेन्टिलेटर किनेको छैन, यस्तो बेला जनप्रतिनिधिलाई बैठक र दसैँका नाममा भत्ता वितरण गर्न मिल्दैन । सम्पूर्ण भत्ता कटाउनुपर्छ र कोभिड– १९ मा खर्च गर्नुपर्छ ।’
उनले यस विषयलाई आफू सदस्य रहेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा राखेको पनि बताए । ‘ मैले समितिमा भत्ताको कुरा गरेँ । श्रमिक समिति भन्ने, सांसदहरू बैठक बस्ने, खाजा पनि खाने, भत्ता पनि पाउने अनि श्रमिकहरूचाहिँ भोकभोकै रत्नपार्क बस्ने, यो कस्तो नीति हो ?’ सांसद प्रधानले आक्रोश पोखे ।
Leave a Reply