माधव नेपालहरूको दल दर्ता भयो, गठबन्धनलाई अब सजिलो भएको छ।
प्रधानमन्त्री भएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको नेतृत्व गरेको ४७ दिन भएको छ तर, आज सम्म उनले न्युनतम मन्त्रिपरिषद् बिस्तार गर्न सकेका छैनन्।
यसअघिका ४ कार्यकालमा बोरु बढी मन्त्री बनाएको भनेर आरोप खेपेका उनै देउवा यसपटक भने नराम्रो सँग चिप्लिएका छन्।
यसपटक उनलाई अफ्ट्यारो हुनुको कारण भने सत्तारुढ गठबन्धन रहेको छ।
मन्त्रालय भागबन्डा, मन्त्री आकांक्षीलाई मिलाएर जानुपर्ने बाध्यता, मन्त्रीकै कारण महाधिवेशनमा उनलाई पर्ने असर लगायत नेकपा एकीकृत समाजवादी आज सम्म अनिर्णयको बन्दी बन्नुले यि सबै हुन सक्ने राजनीतिक विश्लेषकहरू तर्क गर्छन्।
त्यसो त प्रधानमन्त्री देउवाले सरकार विस्तारबारे सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार भएको भेटमा उनीहरुबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको छ।
प्रचण्डको सचिवालयले दुई जनाबीच अपूरो मन्त्रिपरिषदलाई चाँडै पूर्णता दिनेबारे छलफल भएको पुष्टि गरेको छ।
प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच यसअघि पनि मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल भएको समाचार बाहिरिँदै आएका छन्। यद्यपि, देउवाले अझैसम्म मन्त्रिपरिषद् विस्तार गरेका छैनन्।
देउवा नेतृत्वको वर्तमान सरकार पाँच दलीय गठबन्धनको हो। सरकार गठनमा नवगठित नेकपा (एकीकृत समाजवादी)को भूमिका महत्वपूर्ण छ।
तर, पनि सरकार बनेको ४५ दिन नाघिसक्दा पनि देउवा एक्लैले २० मन्त्रालय हाँकिरहेका छन्।
संविधानमा संघीय सरकारले बढीमा २५ मन्त्रालय विस्तार गर्न पाउने प्रावधान छ। देउवा नेतृत्वको सरकार गठन भएको डेढ महिना पुगिसक्दा ६ सदस्यीय मन्त्रिपरिषद्ले देश हाँकिरहेको छ।
सरकार पाँच दलीय गठबन्धनको हो तर अहिले कांग्रेस र माओवादीका मात्रै मन्त्री छन्। देउवाले सत्ता साझेदार माओवादीलाई मात्रै दुई मन्त्रालय दिएका छन्। उनले तीन मन्त्रालयको जिम्मा कांग्रेसकै नेतालाई दिएका छन्।
प्रधानमन्त्री देउवाले बाँकी २० मन्त्रालयको सम्पूर्ण कार्यभार आफैँ सञ्चालन गर्दै आएका छन्।
त्यसो त लामो समय भइसक्दा पनि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेपछि आलोचना भइरहेको छ।
खासगरी आफूलाई विश्वासको मत दिने नेकपा एमालेको तत्कालीन माधव नेपाल पक्षलाई पर्खिँदा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको कांग्रेस नेताहरु बताउँछन्।
कांग्रेस सांसद संजय गौतम माधव नेपालहरूको दल दर्ता भयो, गठबन्धनलाई अब सजिलो भएको छ, अब चाडौं यो काम टुंगाउछौं, भन्दै अबको केही दिनमै मन्त्रिपरिषद् टुंगो लाग्ने दाबी गरे।
Leave a Reply