संसदमा एकीकृत समाजवादी सत्ता पक्ष र लोसपा प्रतिपक्षको कुर्सीमा बस्ने

 ग्लोबल टिभि      बुधबार, भदौ २३, २०७८      0

राजनीतिक दलसबन्धी अध्यादेशबाट विभाजनमा पुगेका राजनीतिक दलहरू संघीय संसदको बैठकमा फरक-फरक कुर्सीमा बस्ने भएका छन्।

एमालेबाट विभाजन भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सत्ता पक्षको कुर्सीमा बस्नेछ भने जनता समाजवादी पार्टीबाट अलग भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रतिपक्षको कुर्सीमा बस्ने छ।

संसद सचिवालयमा दुबै पार्टीले संघीय संसद बैठक कक्षभित्र बस्ने कुर्सीका बारेमा माग गरे बमोजिम उक्त व्यवस्थापन गरेको प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए।

‘एकीकृत समाजवादीले सत्तापक्षमा र लोसपाले प्रतिपक्षको कुर्सीमा बस्ने भनेर माग सचिवालयमा जानकारी गराउनु भएको थियो,’ प्रवक्ता पाण्डेले भने, ‘सोही बमोजिम एकीकृत समाजवादीलाई सत्तापक्ष र लोसपालाई प्रतिपक्षको स्थानमा कुर्सी व्यवस्थापन गरिदिएका छौं।’

लोसपाले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिए पनि संघीय संसदको संरचनामा भने प्रतिपक्षमा बस्ने जानकारी सचिवालयलाई गराएपछि उक्त व्यवस्थापन गरिएको हो।

दुबै सदनको अधिवेशन आज अपराह्न सुरु हुँदैछ।

संसद बैठक, यस्तो छ सम्भावित कार्यसूची

संघीय संसदको (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को बैठक आज बस्ने भएको छ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अपरान्ह ४ बजे बस्ने गरी दुबै सदनको बैठक आह्वान गरेकी थिइन्।

सरकारले संसदको अधिवेशनमा बजेट विस्थापन गर्न विधेयक ल्याउने सम्भावना छ। संघीय निजामती सेवा विधेयक, नागरिकता विधेयकलगायत पेश गर्ने र अध्यादेशहरूलगायत पनि कार्यसूचीमा छन्।

साउन ३२ मा सरकारले अधिवेशन अन्त्य गरेको थियो। त्यसबेला सरकारले अधिवेशन अन्त्य गरेर राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको थियो। अध्यादेशअनुसार नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी दर्ता भइसकेका छन्।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *