प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले अमेरिकी अनुदान सम्झौता एमसीसीबारे पहिले सत्तारुढ गठबन्धन स्पष्ट हुनुपर्ने बताएका छन्।
ओली निवास बालकोटमा एमसीसी अध्यक्ष फतिमा सुमारसहितको टोलीसँग भेट गर्दै अध्यक्ष ओलीले सत्तारुढ दलको स्पष्ट धारणा आएपछि मात्रै एमालेले धारणा सार्वजनिक गर्ने बताएका हुन् ।
सरकारमा रहँदा एमसीसी पारित गर्नुपर्ने पक्षमा रहेका ओलीले संसदमा प्रस्तावसमेत पठाएका थिए । तर, बिहीबारको भेटमा एमसीसी अधिकारीहरुसँगको भेटमा ओलीको धारणा फरक आएको छ।
भेटमा संलग्न विदेश विभाग प्रमुख राजन भट्टराईले एमसीसीबारे सत्तारुढ दलहरुले प्रष्ट धारणा बनाएपछि मात्र एमालेले पोजिसन क्लियर गर्ने अधयक्ष ओलीले बताएको जानकारी दिए ।
एमाले सरकारमा रहँदा पनि सभामुखसहितका केही पक्षले एमसीसीलाई अघि बढ्न नदिएको स्मरण गराउँदै एमाले अध्यक्ष ओलीले सरकारले अहिलेसम्म आफूहरुसँग यसबारेमा छलफल पनि नगरेको बताए । सत्तारुढ दलसँग यथेष्ट बहुमत भएकाले सायद जरुरी नपरेर एमालेसंग परामर्श नगरेकाो हुन सक्ने ओलीको भनाइ थियो ।
एमसीसी उपाध्यक्ष सुमारले भने संसदबाट पारित गर्ने प्रक्रियामा सघाउन एमाले अध्यक्ष ओलीसँग आग्रह गरेकी थिइन् । भेटमा एमसीसी उपाध्यक्ष सुमारसँगै नायव उपाध्यक्ष जोनाथन ब्रुक्ससहितका एमसीसी प्रतिनिधिमण्डल तथा एमालेबाट भट्टराई, नेता विष्णु रिमाललगायत सहभागी थिए ।
एमसीसीका बारेमा नेपालमा मत विभाजित रहेको छ । सत्तारुढ दलमै पनि यसबारेमा एकमत हुन सकेको छैन । जनस्तरमा पनि विरोध भइरहेको छ । सामाजिक सञ्जालदेखि सडकसम्म विरोध प्रदर्शन गरिएका छन् ।
गत वर्ष असार १६ गतेभित्र संसदबाट पारित गरिसक्नुपर्ने एमसीसी अझै पारित हुन नसकेपछि सरकारले बुधबार संसद बैठक समेत बोलाएको थियो ।
Leave a Reply