आज असोज २ अर्थात् गणेशमान सिंह स्मृति दिवस । २०४६ को जन आन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २५ औँ स्मृति दिवस मनाइँदैछ । शनिबार विविध कार्यक्रम गरि प्रजातन्त्र पुनःस्थापनाका लागि नेतृत्व गरेका कमाण्डर सिंहको स्मृति दिवस मनाइँदैछ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रुपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए ।
विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेका थिए । विसं १९७२ कात्तिक २४ गते काठमाडौँको , यट्खा टोलमा जन्मिएका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको हो ।
काठमाडौँको खानदानी परिवारमा जन्मिएका सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए । राणा शासन अन्त्य गर्ने अभियानमा लागेपछि उनी लगायतलाई तत्कालीन सरकारले जेल हाल्यो ।
विसं २००७ अघि नै भद्रगोल जेल फोरेर भाग्न सफल भएका जोशिला तन्नेरी उनी प्रवास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनमा सक्रिय भएका थिए । जेलबाट भागेर भारतमा पुगी अर्का नेता वीपी कोइरालासँग उनले राजनीतिक सम्बन्ध विकसित गरेका थिए ।
Leave a Reply