सत्ता गठबन्धनका शीर्ष नेताहरुले मन्त्रिपरिषद् विस्तारलाई टुंग्याउने विषयमा सहमति गरेका छन् ।
आज मध्याह्न बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठकले मन्त्रालय बाडफाँडको विषयमा सहमति गरेका हुन् । काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच कुन दलले कुन–कुन मन्त्रालय लिने भन्ने विषयमा सहमति जुटेको हो ।
सहमतिअनुसार नेपाली कांग्रेसले ८ वटा मन्त्रालय लिने भएको छ । हाल उसले गृह, परराष्ट्र र कानून लिइसकेको छ अब उसले सञ्चारसहितका मन्त्रालय लिनेछ । माओवादी केन्द्रको भागमा ५ वटा मन्त्रालय परेको छ । अर्थ र उर्जा, शिक्षासहितका मन्त्रालय पाउनेछ । एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समान चाररचार मन्त्रालय पाउने छ ।
जसपाले भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, वन र कृषि मन्त्रालय पाएको छ ।त्यस्तै, सत्तारुढ दलहरुबीच राज्यमन्त्री र उपसभामुख पद पनि भागवण्डा भएको छ ।
कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले एकएक राज्यमन्त्री लिएको छ भने जसपाले उपसभामुख पाउने लगभग सहमति भएको एक नेताले बताए । प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले मन्त्रालय बाडफाँडको विषयमा सहमति भएको र त्यहीअनुसार मन्त्रीको नाम आएपछि केही दिनभित्रै मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिए । दलभित्र आन्तरिक छलफलपछि फेरि टुंग्याउने तयारी रहेको बताइएको छ ।
Leave a Reply