नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा सहभागिताका लागि चितवनका घरघरमा निम्तो पठाएको छ ।
चितवनमा हुने महाधिवेशनका लागि एमाले चितवनले जिल्लाका सबै घरमा निमन्त्रणापत्र पठाएको हो। दशौं महाधिवेशन प्रचारप्रसार सहयोग समितिका संयोजक विजय सुवेदीका अनुसार एक लाख ५० हजार प्रति निमन्त्रणापत्र तयार पारेर जिल्लाका ९८ वटै वडामा पठाइएको छ ।
थप माग भएमा पठाउने तयारी गरिएको सुवेदीले जानकारी दिए। वडा कमिटीले भेला र बैठक गरेर निमन्त्रणापत्र वितरण शुरू गरिसकेको उनले बताए । ‘पालिका, वडा र टोल कमिटी सक्रियरूपमा निमन्त्रणापत्र वितरण र प्रचार–प्रसारमा जुटेका छन्,’ उनले भने, ‘उद्घाटन समारोहमा सहभागी गराउन प्रत्येक घरमा निमन्त्रणापत्र नै पठाउन लागिएको हो।’
उद्घाटन कार्यक्रममा एमाले कार्यकर्तामात्रै नभएर शुभेच्छुक, शुभचिन्तकलगायत आम सर्वसाधारणलाई उपस्थित गराउन सबैलाई निमन्त्रणा गरिएको एमाले जिल्ला अध्यक्ष पार्वती रावलले बताइन्। “चितवनबाट मात्रै उद्घाटनसत्रमा एक लाखभन्दा बढी जनसहभागिता गराउने तयारी छ,” उनले भनिन्।
एमालेको १०औं महाधिवेशन १० देखि १२ मंसीरमा चितवनमा हुँदै छ। उद्घाटन कार्यक्रम नारायणगढस्थित नारायणी नदी किनारमा र बन्दसत्र सौराहास्थित होटल सेभेन स्टार परिसरमा हुने तय गरिएको छ।
उद्घाटनसत्र हुने नारायणी नदी किनारमा मञ्च र अन्य व्यवस्थापनको काम थालिएको छ। यस्तै बन्दसत्र हुने सौराहाको होटल सेभेन स्टार परिसरमा समेत बन्दसत्र गर्ने हल निर्माणलगायत अन्य काम शुरू गरिएको अध्यक्ष रावलले बताइन्।
Leave a Reply