अहिलेको सरकारले जनताप्रति उत्तरदायी भएर काम गरिरहेको छ : माधव नेपाल

 ग्लोबल टिभि      शनिबार, मंसिर ४, २०७८      0

काठमाडौं ,मङ्सिर ४गते।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान गठबन्धन सरकारले जनताप्रति उत्तरदायी भएर काम गरिरहेको बताएका छन् । काठमाडौंमा आज नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) तनहुँ–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित भेलामा अध्यक्ष नेपालले गठबन्धन सरकारले जनताको हित हुने गरी काम गरिरहेको बताए ।
नेपालले पाँच दलको एकता बलियो रहेको भन्दै गठबन्धनलाई कसैले भत्काउन नसक्ने बताए । उनले राष्ट्रियसभा तथा उपचुनावमा गठबन्धन दलहरूले साझा उम्मेदवार उठाएर सबै क्षेत्रमा विजय हासिल गर्ने बताए । उनले आगामी चुनावमा नेकपा (एकीकृत समाजवादी) को विजयी अभियान सुरु हुने समेत बताए ।
कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नेतर्फ सरकार गम्भीर रहेको बताए । मन्त्री श्रेष्ठले वैदेशिक रोजगार क्षेत्रलाई पनि बेथिति मुक्त बनाउने प्रतिवद्धता जनाए । वैदेशिक रोजगारीको क्षेत्रमा रहेका बेथिति हटाउँदै व्यवस्थित, पारदर्शी र मर्यादित बनाउन कानूनलाई कडाइका साथ कार्यान्वयन गरिने उनको भनाइ छ ।
मन्त्री श्रेष्ठले सरकारले नयाँ श्रम गन्तव्य खोजी गरिरहेको समेत बताए । कार्यक्रममा पार्टी उपाध्यक्ष केशवलाल श्रेष्ठ, नेताहरु प्रतापलाल श्रेष्ठ, विजय गुरुङ, दिलु पन्त, श्रीराम कार्की लगायतले नेकपा (एकीकृत समाजवादी)को पक्षमा जनलहर आएको बताएका थिए ।
भेलाबाट श्रीराम पौडेलको अध्यक्षतामा ३७ सदस्यीय नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) तनहुँ–काठमाडौं सम्पर्क मञ्च गठन गरिएको छ । कार्यक्रममा एमाले–काँग्रेस लगायत पार्टी परित्याग गरि नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका ५३ जनालाई पार्टी अध्यक्ष नेपालले स्वागत गरेका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *