नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभा निर्वाचनमा पाँच दलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनाइने जनाएका छन् ।
मंगलबार जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले सत्तारुढ गठबन्धनबीच लामो सहकार्य हुने र उपनिर्वाचनमा पनि साझा उम्मेदवार बनाइने बताएका हुन् ।
चरण चरणमा निर्वाचन गर्दा मुलुकमा आर्थिक भार पर्ने भएकाले तीनै तहको निर्वाचन एकै पटक गर्दा उपयुक्त हुने उनले सुझाव दिए ।
उनले भने, “एउटा प्रदेशमा एकै दिन तीनै तहको निर्वाचन, पुनः अर्को प्रदेशमा अर्को एकैदिन तीनै तहको निर्वाचन गर्दा राम्रो हुन्छ ।” त्यसो गर्दा देशलाई पनि आर्थिक भार कम पर्ने र उम्मेदवारको पनि खर्च कम हुने उनको सुझाव थियो ।
उनले न्यायपालिकामा देखिएको समस्यालाई तत्काल समाधान गर्नुपर्नेमा पनि जोड दिए । उनले न्यायपालिकाभित्र देखिएको द्वन्द्वको समाधान छलफल तथा आपसमा समझदारी गरेरै निकाल्नुपर्ने बताए ।
उनले भने,“हरेक समस्याको समाधान गर्ने उपयुक्त विधि वार्ता र संवाद नै हो, अरू कुनै विधि नै छैन, त्यसैले वार्ता र संवादकै माध्यमबाट अहिले न्यायालयभित्र देखिएको विवाद समाधान गर्नुपर्छ ।” समस्या समाधानमा ढिलाइ हुँदा आम जनतामा नकारात्मक सन्देश गइरहेकाले न्यायालयभित्रको विवाद समाधान हुने गरी संवाद अघि बढाउन प्रधानमन्त्रीसँग छलफल भइसकेको र छिट्टै नै समस्या समाधान हुने उनले विश्वास व्यक्त गरे ।
Leave a Reply