प्यूठान ,मङ्सिर ७गते।
नेपाली कांग्रेसको महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधि छनोटको मतगणनास्थलमा दुई समूहबीच झडपको स्थिति निम्तिएपछि प्यूठानमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।
प्यूठान नगरपालिकास्थित विजुवारमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच विवाद निम्तिएपछि दुबै समूह एक-अर्कामा जाइलागेका थिए।
स्थिति नियन्त्रणमा लिन केही राउण्ड अश्रुग्यास प्रहार गरिएको प्यूठान प्रहरीका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए।
मंगलबार बेलुका दुबै समूहबीच विवाद भएको थियो।
स्वर्गद्वारी क्याम्पस प्यूठान विजुवारमा जारी मतगणना स्थलमा दुई पक्षका बीचमा लफडा भएपछि प्रहरीले अश्रग्यास हानेको प्यूठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले सेतोपाटीलाई बताए।
‘मतगणनाका क्रममा कसैले टिनमा ढुंगा हानेपछि विवाद उत्पन्न भयो र स्थिति तनावपूर्ण बनेपछि प्रहरीले दुई राउण्ड हवाई फायर गरेको हो,’ भुसालले भने।
अहिले स्थिति प्रहरीको नियन्त्रणमा रहेको उनले बताए। लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी मुकुन्दराज आचार्यले पनि अश्रुग्यास मात्रै प्रहार भएको सूचना आफूले पाएको बताए।
प्यूठानमा सभापति पदमा शिव रिजाल र विष्णु गिरी चुनावी प्रतिस्पर्धामा थिए।
एक हजार ६४ मत खसेकोमा मतगणना अन्तिम चरणमा पुगेको समयमा विवाद भएको हो।
थप विरण आउन बाँकी छ,’ आचार्यले भने, ‘सशस्त्र प्रहरी एक जना असई र हाम्रो एक जना प्रहरी जवानलाई बढी चोट लागेको छ।’
दुबै घाइतेलाई थप उपचारका लागि बुटवलतर्फ पठाइएको उनले बताए। उनले थप ९ जना सर्वसाधारण सामान्य घाइते भएको भन्ने सूचना आफूले पाएको जानकारी दिए।
स्रोतका अनुसार झडपमा परी प्रहरी जवान गोपाल जिसी र चन्द्रबहादुर गाह पनि घाइते भएका छन्।
त्यस्तै, कांग्रेस कार्यकर्ता कृष्ण बसेल, स्वर्गद्वारी नगरपालिका २ का २० वर्षीय कमल घर्ती, नौबहिनी-६ का २६ वर्षीय कुवर पुन, २३ वर्षीय विनोद रिजाल र प्यूठान नगरपालिका ७ का खेमराज पण्डित घाइते छन्।
Leave a Reply