नेकपा एमाले १०औं महाधिवेशन आजदेखि सुरु हुँदै

 ग्लोबल टिभि      शुक्रबार, मंसिर १०, २०७८      0

चितवन ,मङ्सिर १०गते।
नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ । अधिवेशनको उद्घाटन समारोह शुक्रबार चितवनको नारायणी किनारमा हुँदैछ । महाधिवेशनको बन्दसत्र भने सौराहको सेभेन स्टार होटलमा मंसिर ११ गते गरिने कार्यक्रम तय भएको छ । त्यहीँबाट निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ । केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा रहेको १५ सदस्यीय कमिटीले मंसिर ११ गते उम्मेदवारी दर्ता गर्ने कार्यक्रम बनाएको छ । उक्त दिन उम्मेदवारी फिर्ता लिने र बेलुकी ६ बजे अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ । मंसिर १२ गते मतदान प्रक्रिया हुने छ ।
महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि सहभागी हुनेछन् । भूगोल, जनसंगठन विभाग, सम्पर्क कमिटी र प्रवासबाट र ५ प्रतिशत मनोनित (१०६ जना) गरी दुई हजार १७५ प्रतिनिधि सहभागी पुग्छन् । महाधिवेशनमा १०३ जना पर्यवेक्षक छन् । एमालेका सल्लाहकार १५ जना र पाका पुराना नेता पर्यवेक्षक रहनेछन् । कुल प्रतिनिधिमा ६२७ जना महिला र २०९ जना दलित छन् । महिला प्रतिनिधित्व ३० प्रतिशतभन्दा बढी र दलित प्रतिनिधित्व १० प्रतिशतभन्दा बढी छ । १० गतेबाट मात्रै आवास व्यवस्थापन गरिएको छ । शुक्रबार बेलुका मात्रै प्रतिनिधि परिचयपत्र बाँडिनेछ ।
एमालेको विदेश मामिला प्रमुख तथा महाधिवेशनका अतिथि सत्कार समितिका संयोजक डा. राजन भट्टराईले काठमाडौंमा गरिएको पत्रकार सम्मेलनमा ४ देशका १५ जना अतिथि महाधिवेशनमा सहभागी हुने जानकारी दिए । महाधिवेशनमा भारत, बंगलादेश, श्रीलंका कम्बोडिया लगायतका देशबाट प्रतिनिधि सहभागी हुनेछन् । चिनियाँ कम्युनिष्ट पार्टीको भने भिडियो सन्देश आएको छ । भट्टराईका अनुसार भारतबाट ७ जना, कम्बोडियाबाट ४ जना, बंगलादेशबाट ३ जना र श्रीलंकाबाट १ जना अतिथि महाधिवेशनमा सहभागी हुनेछन् । काठमाडौं आइपुगेका केही अतिथिलाई उनले सोल्टी होटलमा रात्रीभोजको समेत आयोजना गरेका छन् ।ती अतिथिहरूले उद्घाटन सत्रका दिन शुभकामना दिनेछन् भने मंसिर १२ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुसँग संयुक्त रुपमा ब्रेकफास्ट मिटिङ गर्ने कार्यक्रम तय भएको छ । विदेशी पाहुनाहरूलाई चितवनको ग्रीन मेनसन जंगल रिर्सोटमा बसोबासको व्यवस्था मिलाइएको छ । उनीहरुलाई चितवनका पर्यटकीय स्थलहरूको दृश्यावलोकनका साथै थारु साँस्कृतिक प्रदर्शनीको अवलोकनको पनि कार्यक्रम राखिएको छ । यसैबीच एमाले महाधिवेशनका लागि विश्वका १५ देशमा कम्युनिष्ट पार्टीहरुले शुभकामना सन्देश पठाएका छन् ।

एमाले उद्घाटन सत्रमा मानव समुद्र उर्लिने एमालेले दाबी गरेकाे छ । पार्टीले सभामा ५ लाख जनाको सहभागिता हुने अपेक्षा गरेकाे छ । प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार उद्घाटनअघि नवलपुरको गैँडाकोटसहित चितवनका विभिन्न ७ स्थानबाट जुलुस निस्कनेछ । चितवनमा मात्रै ५० भन्दा बढी स्वागतद्वार बनाइएको छ । महाधिवेशनको उद्घाटन सत्रमा सबै सहभागी आइपुग्न नसक्ने भएकोले ठूलठूला डिजिटल स्क्रिनमार्फत कार्यक्रमको लाइभ देखाइनेछ । नारायणी नदी पारी नवलपुरको गैंडाकोट र नारायणगढका विभिन्न स्थानमा डिजिटल बोर्ड राखिएका छन् । ​चितवनवासीको घरघरमा पुगेर महाधिवेशनमा आउन निम्तो गरिएको छ । उद्घाटन सत्रमा पाँच हजार स्वयंसेवक परिचालन गरिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *