आज कांग्रेसको पहिलो प्रदेश अधिवेशन- उम्मेदवारी दर्ता हुँदै

 ग्लोबल टिभि      शुक्रबार, मंसिर १७, २०७८      0

नेपाली कांग्रेस पहिलोपटक आफ्नो प्रदेशस्तरीय कार्यसमिति गठन प्रक्रियामा छ ।

प्रदेश कार्यसमिति गठनका लागि कांग्रेसले देशका ७ प्रदेशमध्ये ६ वटामा बिहीबार प्रदेश अधिवेशन उद्घाटन गरेको छ ।

अधिवेशनअन्तर्गत शुक्रबार बिहान ८ बजेदेखि प्रदेश २ बाहेक ६ वटै प्रदेशमा उम्मेदवारी दर्ता गर्ने कार्यतालिका कांग्रेसले बनाएको छ । सर्वसम्मत नयाँ नेतृत्व चयनको प्रयास असफल भए कांग्रेसले शनिबार बिहान ८ बजे मतदान सुरु गर्ने तयारी पनि गरेको छ ।
प्रदेशस्तरीय कार्यसमिति चयनका लागि सुरु प्रदेश अधिवेशनमा प्रदेश सभा निर्वाचन क्षेत्रबाट निर्वाचित प्रदेश अधिवेशन प्रतिनिधि, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट निर्वाचित केन्द्रीय महाधिवेशन प्रतिनिधि, सम्बन्धित प्रदेशभित्रका निवर्तमान केन्द्रीय सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष, सहमहामन्त्री र केन्द्रीय कार्यसमितिका सदस्य प्रतिनिधि मानिन्छन् ।

यस्तै प्रदेशभित्रका पार्टीको जिल्ला कार्यसमितिका सभापति, प्रदेशका भ्रातृ शुभेच्छुक संघ–संस्थाका प्रमुखहरु पनि प्रदेश अधिवेशनमा प्रतिनिधिका रुपमा सहभागी हुन पाउने कांग्रेसको विधानले व्यवस्था गरेको छ ।

विधानअनुसार प्रदेश अधिवेशनमा प्रतिनिधिका रुपमा सहभागी हुने प्रदेशका भ्रातृ शुभेच्छुक संघ–संस्थाका प्रमुखहरुलाई मतदानको अधिकार भए पनि उम्मेदवार बन्न पाउँदैनन् । प्रदेश अधिवेशनका प्रतिनिधिले कम्तीमा १५ वर्ष निरन्तर क्रियाशील सदस्य रहेका प्रदेश अधिवेशनका प्रतिनिधिमध्येबाट एक जना सभापति चुन्नेछन् ।

अधिवेशनबाट कम्तीमा १० वर्ष निरन्तर क्रियाशील सदस्य रहेका प्रदेश अधिवेशन प्रतिनिधिमध्येबाट प्रदेश कार्यसमितिका लागि दुई जना उपसभापति, दुई जना महामन्त्री र एक महिलासहित तीन जना सहमहामन्त्री चयन हुने कांग्रेस विधानमा व्यवस्था छ ।

प्रदेश सभापतिले प्रदेश कार्यसमितिका निर्वाचित सदस्यमध्येबाट नाम प्रस्ताव गरी कोषाध्यक्ष मनोनयन गर्न पाउँछ । प्रदेश कार्यसमितिमा रहने सदस्य भने विधानअनुसार अधिवेशनले चयन गर्नेछ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *