मुलुकमा अझै प्रतिगमनको खतरा टरिसकेको छैन- प्रचण्ड

 ग्लोबल टिभि      शनिबार, मंसिर १८, २०७८      0

सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले मुलुकमा अझै प्रतिगमनको खतरा टरिनसकेको भन्दै त्यसविरुद्ध कलम चलाउन पत्रकारहरुलाई आग्रह गरे ।

शनिबार पार्टीनिकट प्रेस सेन्टर नेपालको चितवनमा आयोजित चौथो राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले प्रतिगमनकारी र प्रतिक्रान्तिकारी शक्तिहरुले सत्तारुढ गठबन्धनलाई कमजोर पार्न सकिन्छ कि भनेर षडयन्त्र गरिरहेको दोहोर्‍याए ।

अध्यक्ष दाहालले एमालेको चितवनमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनलाई पञ्चायतीकरणको संज्ञा दिँदै त्यसविरुद्ध अझ सजक र सक्रियताका साथ लागि पर्न पनि पार्टी निकट पत्रकारहरुलाई सचेत गराए ।

दाहालले आफूहरूले प्रतिक्रान्तिलाई रोक्दै मुलुकलाई समृद्धिको बाटोतर्फ अघि बढाउन चाहेको पटक–पटक दोहोर्‍याए । दलहरूबीचको सहमतिबिना प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव ल्याउने अवस्था नरहेको बताएका छन् ।

अध्यक्ष दाहालले यही मंसिर २८ गते बोलाइएको संघीय संसदको हिउँदे अधिवेशनमा पनि राष्ट्रिय सहमति र दलहरुबीचको समझदारी नभई प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव अघि बढने अवस्था नरहेको प्रष्ट पारे । राजनीतिक दलहरुको सहमति र समझदारी नभई एमसिसीबारे संसदले निर्णय लिने अवस्था नरहेको पनि बताए ।

अध्यक्ष दाहालले प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउने कुरा, एमसिसी के हुन्छ भन्ने विषयमा चिन्ता नलिई लोकतन्त्र र गणतन्त्रको पक्षमा दृढतापूर्वक उभिन पार्टी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टरका नेता, कार्यकर्तालाई अपिल गरे ।

कसैले जबरजस्ती गरेर हुने कुरा छैन। महाअभियोग पनि राष्ट्रिय हितअनुसार राजनीतिक समझदारीको आधारमा मात्रै हुने(नहुने कुरा हुन्छ। त्यसकारण त्यसमा चिन्ता नमानी लोकतन्त्र र गणतन्त्रको पक्षमा, हामीले ल्याएको परिवर्तनको पक्षमा दृढतापूर्वक उभिन अपिल गर्दछु।’

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *