कांग्रेस सह-महामन्त्रीमा भीष्मराज आङ्देम्बेको उम्मेदवारी घोषणा

 ग्लोबल टिभि      सोमवार, मंसिर २०, २०७८      0

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले सह-महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर केन्द्रीय सदस्य समेत रहेका आङ्देम्बेले १४ औं महाधिवेशनमा आफूले सह महामन्त्री (आदिबासी-जनजाती) पदमा उम्मेदवारी दिने घोषणा गरे।

नेता आङ्देम्बेले नेपाली कांग्रेस पार्टीलाई चुस्त र दुरूस्त बनाउँदै २१ औं शताब्दीको पार्टीमा रूपान्तरित गरी २१ औं शताब्दीका युवा उमेर र सोचलाई नेतृत्व गराउन सक्ने पार्टीमा रूपान्तरित गर्न सकिन्छ र त्यही ढंगबाट पार्टीलाई चलायमान गर्न नेतृत्वको आवश्यकता रहेकोले आफूले उक्त पदमा उम्मेदवारी दिन लागेको जनाए ।
कार्यक्रममा बोल्दै नेता आङ्देम्बेले समावेशी र सहभागितामूलक लोकतन्त्रलाई सार्थक बनाउन वर्तमान संविधानको रक्षा गर्दै यसको इमान्दारीपूर्वक कार्यान्वयन गर्न नेपाली कांग्रेसलाई सबल र एकताबद्ध बनाउन आफूले पहल गर्ने पनि दाबी गरे।
आङदेम्बेले पार्टीलाई वैचारिक रुपमा स्पष्ट, सांगठनिक रुपमा गतिशिल र भावनात्मक रुपमा एकतावद्ध अनि अनुशासित र प्रशिक्षित कार्यकर्ताको उर्जाशील अभियानका रुपमा विकास गर्ने पनि प्रतिवद्धता गरे ।

लोकतन्त्रमाथिको चुनौति र खतरालाई सामना गर्नसक्ने, भ्रष्टाचार र पक्षपातको विरुद्ध सशक्त हुने तथा मुलुकमा कानूनी शासन र सुशासन प्रदान गर्दै राजनीतिक स्थायित्व प्रदान गर्न सक्षम पार्टीको रुपमा कांग्रेसलाई आम युवापुस्ता र नेपाली समाजको प्रतिनिधि शक्तिका रुपमा सबल बनाउने उनको योजना छ।

पार्टीको सदस्यता प्रणालीलाई व्यवस्थित र आकर्षक बनाउँदै पार्टीको समग्र संगठन र हरेक तहको नेतृत्वमा स्वच्छता, न्याय र विवेकको वातावरण निर्माण गर्ने पनि उनको योजना छ ।
समाजमा द्धन्द्ध र असन्तोषको अवस्थाको उचित सम्बोधन गरि दिगो शान्ति कायम गर्दै संविधानको सुधार र संशोधन गर्न, संविधानप्रतिको आम अपनत्वको अवस्था सबल पार्न कांग्रेसको राजनीतिक अगुवाई गर्नेलगायत उनले चुनावी एजेन्डा अघि सारेका छन् ।

पटक पटक कांग्रेसको केन्द्रीय सदस्य भइसकेका आङदेम्बे पूर्वी पहाडी क्षेत्रका प्रभावशाली नेताका रुपमा चिनिन्छन् ।
आङदेम्बे २०७० सालको संविधानसभा निर्वाचनमा पाँचथरको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए। त्यसपछि संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको सभापति भएका थिए ।

हाल उनी केन्द्रीय सदस्यको अतिरिक्त पार्टीको अनुशासन आयोगको संयोजक रहेका छन् ।
पाँचथरको नवमीडाँडा घर भएका आङदेम्बेको परिवारिक पृष्ठभूमि पनि राजनीति नै रहेको छ । उनका बाजे देउमान आङदेम्बे टंकप्रसाद आचार्य नेतृत्वको मन्त्रिपरिषद्‍मा अर्थ तथा मालपोत उपमन्त्री भएका थिए भने बुवा घनेन्द्रराज आङदेम्बेले गाउँ पञ्चायत र गाउँपालिकाको नेतृत्व सम्हालिसकेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *