निराश देखिएका रामचन्द्र प्रकाशमान निवासमा

 ग्लोवल टि.भी.      बुधबार, मंसिर २२, २०७८      0

काठमाडौं,मङ्सिर २२गते। सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस यतिबेला महाधिवेशनमा केन्द्रित भएको छ। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र इतरपक्ष यतिबेला आगामी पाँच वर्षका लागि पार्टीको नेतृत्व लिने दाउमा लागिरहेका छन्।

महाधिवेशन सुरु हुन ४८ घण्टा भन्दा कम समय बाँकी रहँदा संस्थापन र इतर पक्ष सभापतिसहित पदाधिकारी चयनको टुंगोमा पुग्न सकेका छैनन्।

सभापतिका लागि संस्थापन पक्षमा देउवाको विकल्पमा कसैले दाबेदारी प्रस्तुत नगर्दा इतर पक्षमा भने साझा उम्मेदवार छान्न सकस परेको छ।

गत महाधिवेशनमा देउवासँगै पराजित रामचन्द्र पौडेल पुन: सभापतिमा उम्मेदवारी दिन चाहिरहेका छन्। तर, यसपटक देउवालाई पाखा लगाउन भन्दा उनलाई आफू पक्षधर नेताहरुलाई मनाएर सभापतिको उम्मेदवारी उम्काउनै समस्या परेको छ।

मंगलबार दिनभरको प्रयास असफल भएपछि बुधबार साझा उम्मेदवार चयन गर्ने पौडेल पक्षको तयारी थियो। तर आज पनि सहमति जुट्न नसक्दा भोलिको लागि भाका सरेको छ।

अन्तिम प्रयासमा पौडेलको दौडधुप पौडेल अन्तिम पटक सभापतिको उम्मेदवार हुँदै महाधिवेशनबाट पार्टी नेतृत्व गर्न चाहिरहेका छन्। अबको पाँच वर्षपछि उम्मेदवार सम्भावना न्यून भएकाले पौडेलले यसपटक आफूलाई छाड्न बैठकमा नेताहरुलाई आग्रह गरिरहेका छन्। त्यसका लागि बुधबार विहान उनले आफू पक्षधर नेताहरुको भेलासमेत राखे।

भेलाबाट उनी चण्डोलस्थित नेता कृष्णप्रसाद सिटौला निवास पुगे र आफूलाई सहयोग गर्न आग्रह गरे। सिटौलाबाट सकारात्मक जवाफ नपाएका उनले त्यसपछि शेखर र शशांकसँग छलफल गरे। शेखर, शशांक र प्रकाशमानबाट साझा उम्मेदवार भए आफू त्याग गर्न तयार रहेको बताएका उनले सकेसम्म आफूलाई सहयोग गर्न दुई कोइरालालाई मनाउन प्रयास गरे। शशांकले हिजै पौडेलका लागि आफूले सभापतिको आकांक्षा त्यागेको बताएका थिए भने शेखरलाई पनि पौडेलले मनाउने प्रयास गरेका थिए।

चाक्सीबारी बैठकमा सहमति जुट्न नसक्दा पौडेलको निराशा बढेको हो। बुधबार साँझ बैठकबाट उनी निराश मुद्रामा बाहिरिएका थिए। बैठकमा उनले सभापतिमा लड्न नदिए र कसैले सहयोग नगरे राजनीतिबाट बिदा हुने बताएका थिए।

प्रकाशमानको अडान

रामचन्द्रको पक्षमा महामन्त्री कोइराला सकारात्मक देखिएका भएपनि नेता प्रकाशमान सिंहले भने सभापतिमा आफ्नो दाबेदारीको अडान छाडेनन्।

१३औं महाधिवेशनमा पनि आफूले त्याग गरेको भन्दै प्रकाशमानले कुनै पनि हालतमा यसपटक सभापतिको उम्मेदवारीबाट व्याक नहुने अडान लिएको स्रोतको भनाइ छ। काठमाडौं बाहिर कमजोर जनाधार रहेको टिप्पणी हुने गरेका प्रकाशमानले अडान नछाड्दा उनकै निवासको आँगनबाट बुधबारपौडेल निराश भएर बाहिरिएका थिए।

अब भोलि बिहान आकांक्षीलाई नराखी बस्ने भनिएको बैठकबाट सर्वमान्य निर्णय आउने र त्यसलाई आकांक्षीहरुले मान्ने कुनै ठोस आधार देखिएको छैन। संस्थापन इतर पक्षले सभापतिको साझा उम्मेदवार तय गर्न नसक्दा संस्थापन पक्षले पनि पदाधिकारी चयनलगायतमा खासै हतारो गरेको छैन।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *