माओवादीको २५ पालिकाको अधिवेशन अझै हुन सकेन

 ग्लोबल टिभि      शुक्रबार, पुस २, २०७८      0

जनकपुरधाम ,पुस२गते । सप्तरीमा नेकपा (माओवादी केन्द्र)को पालिका अधिवेशन अझै हुन सकेको छैन । प्रदेश २ का १३६ पालिकामध्ये २५ वटा पालिकामा अझै अधिवेशन हुन नसकेको माओवादी केन्द्रका प्रदेश अध्यक्ष प्रह्लात बुढाथोकीले जानकारी दिए ।

उनकाअनुसार सप्तरीको १८, धनुषाको सबैला र पर्साको बीरगञ्जमा बढी विवाद देखिएको छ । बाँकीमा आज नै अधिवेशन सम्पन्न भएको उनको भनाई छ ।
गुटगत विवादका कारण सप्तरीको कुनै पनि पालिकामा अधिवेशन हुन सकेको छैन । १८ वटा स्थानीय तह रहेको सप्तरीमा पूर्व जनमोर्चा र पुर्व माओवादीका फरक–फरक गुटका कारण विवाद देखिएको हो । उनीहरूले छुट्टाछुटै कमिटी गठन गरेका छन् ।

पार्टीले जिल्ला अध्यक्षको जिम्मेवारी पूर्व मन्त्री उमेश यादव र इन्चार्जको जिम्मेवारी अशोक मण्डललाई तोकेको थियो । तर, मण्डलले २०७७ चैत २८ गते जिल्लाको बैठकबाट सम्पूर्ण पालिकामा समानान्तर कमिटी गठन गर्दा दुईबीच विवाद सुरु भएको हो । दुवै समूहले एक अर्कालाई समानान्तर कमिटी गठन गरेको आरोप लगाउने गरेका छन् ।
पालिका अधिवेशन नसक्दै गत मंसिर २५ गते प्रदेश अधिवेशनको उद्घाटन भइसकेको छ । जनकपुर उद्योग वाणिज्य संघमा आयोजित उद्घाटन समारोहमा असन्तुष्ट पक्ष भने सहभागी भएन । पार्टीले शनिबार (भोलि) सर्लाहीको लालबन्दीमा प्रदेश अधिवेशनको बन्दसत्र हुने कार्य तालिका तय गरेको छ । तर, धेरै पालिकाको विवाद नमिलेकाले बन्दसत्र प्रभावित हुनसक्ने नेताहरू नै बताउँछन् । तर पार्टीका प्रदेश अध्यक्ष बुढाथोकीले अधिवेशन नहुने पालिकालाई छाडेर भएपनि बन्दसत्र अगाडि बढाउने दाबी गरेका छन् ।
प्रदेश अध्यक्षका लागि खुलेर अहिलेसम्म कुनै नेता आएका छैनन् । तर ६ जना नेताहरूले प्रदेश अध्यक्ष बन्न कसरत गरिरहेका छन् । उनीहरूले प्रदेश अध्यक्ष बन्न आफू निकट केन्द्रीय नेता तथा प्रतिनिधिहरूसँग लबिङ गरिरहेका छन् । प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह, पूर्वमन्त्री रामकुमार शर्मा, वर्तमान प्रदेश अध्यक्ष प्रह्लाद बुढाथोकी, प्रदेश सचिव श्रवण बरबरिया र प्रदेश सांसद जगत यादव प्रदेश अध्यक्षका आकांक्षी रहेको बताइएको छ । तर, उनीहरूमध्ये प्रदेश मन्त्री साह र पूर्वमन्त्री शर्माले आफ्नो आफ्नो प्यानल बनाएर प्रतिस्पर्धामा उत्रने बुझिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *