नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठनले प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी दोस्रो चरणको आन्दोलनको कार्यक्रमहरु घोषणा गरेको हो । अनेरास्ववियूले पुस २१ गतेदेखि सरकारका मन्त्रीहरुलाई कालो झन्डा प्रदर्शन गर्ने, २१ गतेदेखि नै प्रत्येक क्याम्पसहरुमा कालो ब्यानर राख्ने र कोणसभा आयोजना गर्ने भएको छ ।
पुस २२ गते काठमाडौं उपत्यकामा लाल्टिन जुलुस निकाल्ने, उपत्यकाबाहिर लाल्टिन, सिट्ठी, लाठी जुलुस प्रदर्शन गर्ने, पुस २३ गते देशव्यापीरुपमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गर्ने, पुस २४ गते सीडीयो कार्यालयमा ज्ञापनपत्र बुझाउने तथा धर्ना कार्यक्रम गर्ने अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले बताए ।
त्यसैगरी, पुस २५ गते सडक बहस कार्यक्रम गर्ने, पुस २६ गते बयलगाढा प्रदर्शन गर्ने, पुस २७ गते प्रतिगमनविरुद्ध सडक कविता, गीत, गजलवाचन कार्यक्रम गर्ने, पुस २८ गते सडक्नाटक तथा सडक कला प्रदर्शन गर्ने र पुस २९ गते सडकमा प्लेकार्डसहित कार्टुन प्रदर्शन गर्ने भएको छ ।
Leave a Reply