सुर्खेत । लामो रस्साकस्सीबीच कर्णाली प्रदेशका मुख्यमन्त्री ज्ञानेन्द्रबहादुर शाहीको पद तत्कालका लाािग जोगिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतबाट अस्वीकृत गर्ने निर्णय गरेको छ ।
शुक्रबार मुख्यमन्त्री पक्षका बहुमत सांसदहरुको बैठकले यो निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले जानकारी दिए । यो बैठकमा अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रधानमन्त्री केपी शर्मा ओली पक्षका सांसदहरू सहभागी भएनन् ।
प्रस्ताव दर्ताका लागि हस्ताक्षर गरेका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरूले साथ दिएपछि मुख्यमन्त्रीको पक्षमा बहुमत जुटेको हो ।नेकपाका १८ जना सांसदहरूले मुख्यमन्त्रीविरुद्ध असोज २५ गते अविश्वासको प्रस्ताव संसदीय दलमा दर्ता गरेका थिए । मुख्यमन्त्री शाहीले त्यसलगत्तै प्रमुख सचेतक गुलावजंग शाहलाई बर्खास्त गरेर सीता नेपालीलाई नियुक्त गरेका थिए ।नवनियुक्त प्रमुख सचेतक नेपालीको अध्यक्षतामा बसेको शुक्रबारको बैठकमा १८ जना सांसद सहभागी थिए । प्रदेश सभामा नेकपाका ३३ सांसद छन् । दलको नेता हटाउन वा कायम राख्न कम्तिमा १७ जना सांसद आवश्यक पर्दछ ।
Leave a Reply