नेपाली कांग्रेसका सह महामन्त्री डा प्रकाशरण महतले नेपाल कम्युनिस्ट पार्टिको सम्पुर्ण ध्यान सत्ता र शक्तिमा केन्द्रित रहेका कारण नेपाली जनतालाई वस्तुको रूपमा प्रयोग गरेको आरोप लगाएका छन् ।
संसद् विघटन विरुद्धमा आज देशभर भैरहेको वडा स्तरीय कार्यक्रम अन्तर्गत काठमाडौँ वडा नं ३ को विरोध सभालाई सम्बोधन गर्दै डा महतले कम्युनिस्ट पार्टिले राज्यको बजेटको ठुलो हिस्सा आफ्नो हातमा पार्न प्रतिसपर्धा गर्दा गर्दै ३ बर्ष गुमाएको स्पष्ट पारेका छन् । प्रम ओलीका उखान तुक्का कारण नेपालमा स्थापित कमेडियनहरु समेत ओझेलमा परेको बताउँदै हाँसी मजाकमा देश अघि बढ्न नसक्ने बताएका छन् ।
जनताका आवश्यकता, जनताका पिर मार्का भन्दा पनि ओली सरकारलाई आफ्नो सत्ता कसरी बचाउने भन्ने चिन्ता बढी भएका कारण अहिले देशको अवस्था नाजुक रहेको उनको भनाइ छ । राज्यको बजेटको ठूलो हिस्सा आफ्नो कित्तामा पार्नमा प्रधानमन्त्री ओली सक्रिय रहेको बताउँदै डा महतले आफ्नै पार्टीका अर्को खेमाका नेताहरुले कालो कर्तुत बाहिर ल्याउने डरका कारण अहिलेको विषम परिस्थिति सिर्जना भएको बताएका छन् ।
नेता महतले जनताका समस्यालाई वेवास्ता गरी कम्युनिस्ट पार्टिले गलत क्रियाकलाप गरेर मात्रै ३ बर्ष गुजारेका कारण अब मुलुकको शान्ती र समृद्घिका लागी आगामी चुनावमा एक मात्र लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसलाई जिताउन समेत अपिल गरेका छन् । जनताबाट अनुमोदित भए पछि मात्र नेपाली कांग्रेस पार्टी सत्तामा जाने स्पष्ट पार्दै नेपाली काँग्रेस भित्र सत्ताको लोभ लालच नभएको उनको भनाइ छ । जनताको भावना र चाहना बुझ्नका लागि अब नेपाली कांग्रेस जनताका घरघरमा पुगेर जनभावनाको कदर गर्नुपर्ने उनले बताएका छन् ।
कांग्रेसले यसअघि प्रतिनिधि सभा क्षेत्र र प्रदेश सभा क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो । विरोध प्रदर्शनका लागि कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक पनि माघ १३ गतेसम्मका लागि स्थगित गरेको छ।
प्रधानमन्त्रीको केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेका थिए।
Leave a Reply