वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध बागमती प्रदेशसभामा अविश्वासको प्रस्ताव पेस भएको छ ।
शुक्रवार बसेको प्रदेश सभाको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले सांसद अरुण नेपाललाई मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव सदनमा पेस गर्न अनुमति दिएका थिए।
अविश्वासको प्रस्ताव प्रदेशसभामा पेस गर्दै पूर्व उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्रीसमेत रहेका नेपालले मुख्यमन्त्री पौडेलले तीन वर्षको अवधिमा प्रदेशलाई स्थापित गर्नबाट चुकेको, कोरोना महामारीमा प्रदेश सरकारको भूमिका कमजोर रहेको र प्रदेशप्रति जनताको विश्वास कमजोर बन्दै गएको कारण अविश्वासको प्रस्ताव दर्ता गरिएको बताए । सदनमा मुख्यमन्त्री पौडेललाई नेकपाको संसदीय दलको नेताबाट पदमुक्त गरिएको र नयाँ मुख्यमन्त्रीको रुपमा अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको समेत बताए।
अब प्रदेश सभाको आउँदो १९ गते २ बजे बस्ने बैठकमा अविस्वास प्रस्तावमाथि छलफल हुनेछ । प्रदेश सभाका सभामुख श्रेष्ठले अर्को बैठकमा छलफल गर्ने गरि शुक्रवारका लागि बैठक सकिएको जानकारी गराएका छन्। गएको पुस १० गते सत्तारुढ नेकपाका प्रचण्ड–नेपाल समूहका ४५ जना सांसदहको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव प्रदेश सभामा दर्ता भएको थियो ।
Leave a Reply