चुनाव लाग्यो एमालेलाईः निर्धारण गर्यो उम्मेदवार मापदण्ड, महानगर भने केन्द्रले तय गर्ने

 ग्लोबल टिभि      बुधबार, चैत्र २, २०७८      0

चैत २
नेकपा एमालेले स्थानीय तह उम्मेदवार मापदण्ड निर्धारण गरेको छ । मंगलबार बसेको एमालेको सचिवालय बैठकले उम्मेदवार मापदण्ड तय गरेको हो । निर्वाचनका लागि घोषणापत्र बनाउने काममा पनि एमाले जुटेको छ । दलको ताउरमाउर हेर्दा स्थानीय तहको निर्वाचनले धपक्कै छोपेको सहज रुपमा देख्न सकिन्छ ।

स्थानीय तहको निर्वाचनका लागि एमालेले वडाध्यक्ष र सदस्यको उम्मेदवारको सिफारिस वडा कमिटीबाट गर्ने मापदण्ड बनाएको छ । सँगै उक्त सिफारिस बारेमा जिल्ला कमिटीले छलफलपछि कसलाई टिकट दिने भन्ने निर्णय गर्ने विधि तय गरेको छ ।

त्यस्तै गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारको सिफारिस जिल्लला कमिटीले गर्ने भएको छ । यसबारेको निर्णय प्रदेश कमिटीले गर्ने गरी मापदण्ड तय गरिएको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताएका छन् ।

एमालेले महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुखको टिकटका लागि जिल्ला र प्रदेश कमिटीले सिफारिस गर्ने मापदण्ड बनाएको छ । तर, त्यसको निर्णय भने पार्टी केन्द्रले गर्नेछ । त्यस्तै आगामी चुनावी रणनीति बनाउन एमालेले यही चैत ७ गते पोलिटब्युरो तथा चैत ९ र १० गते केन्द्रीय कमिटी बैठक पनि बोलाएको छ । बैठकले निर्वाचनका लागि घोषणापत्र निर्माण गर्ने समेत निर्णय गरेको छ । बुधबारदेखि नै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको नीति अनुसन्धान प्रतिष्ठानले स्थानीय तहका छाता संगठनका नेताहरूसहित घोषणापत्रको प्रारम्भिक मस्यौदाको अवधारणा बनाउन सुरु गरेको बताउँछन् । त्यति मात्र नभएर अध्यक्ष केपी शर्मा ओली नै पनि देश दौडाहा देखि विभिन्न भ्रातृसंगठनलाई सम्बोधन र प्रशिक्षण दिन व्यस्त छन् ।

स्थानीय तहको चुनावका लागि केन्द्रीय कार्यालयको तर्फबाट केन्द्रीय घोषणापत्र तयार पार्ने र ७५३ स्थानीय तहको लागि एउटै फम्र्याटमा यसबीचमा गरिएका कामको विवरण र गर्ने कामको प्रस्तावसहितको प्रतिबद्धतापत्र एकैसाथ जारी गरिने एमालेले जनाएको छ । एमालेले स्थानीय तहको निर्वाचनलाई लक्षित गेर पार्टी स्कूल विभागको संयोजन र स्थानीय विकास विभाग र निर्वाचन विभागको संलग्नतामा अभिमुखिकरण कार्यक्रम भने सम्पन्न गरिसकेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *