चैत्र २८-नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ठूलो स्वर निकाल्दैमा डराउनुपर्ने अवस्था नरहेको बताएका छन् ।
समाजवादी प्रेस संगठन पर्वतले आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले ओलीप्रति लक्षित गर्दै जसले गल्ती गर्छ उसैले ठूलो स्वर निकाल्ने गरेको टिप्पणी गरे । नजिकिँदै गएको स्थानीय तहको निर्वाचनबारे बोल्दै उनले २०७४ सालको स्थानीय तह निर्वाचनले कुन दलको हैसियत कति छ भन्ने देखाएकाले गठबन्धनमा पनि सोही अनुसार सहमति हुने बताए ।
एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीको अवस्था के छ भन्नेबारे बाहिर थाहा नभए पनि आगामी निर्वाचनले त्यसको पुष्टि गर्ने उनको भनाइ छ । एमाले त्यागेर आफ्नो नेतृत्वको पार्टीमा आउनेहरूको क्रम तीव्र रहेका कारण आउँदो निर्वाचनले समाजवादीको अवस्थाबारे सबैलाई प्रस्ट पार्ने अध्यक्ष नेपालको दाबी छ ।
यस्तै‚ उनले उम्मेदवार छनोटको मोडालिटी तय गर्न गठबन्धनमा लगातार छलफल भइरहेको बताउँदै स्थानीय तह‚ प्रदेश र प्रतिनिधिसभाको निर्वाचनसम्मै गठबन्धन कायम रहने जिकिर गरे । पाँच दलीय गठबन्धनको बैठकले तयार पार्ने साझा सहमतिको आधार र मोडालिटी अनुसार नै उम्मेदवारको निधो हुने पनि उनको भनाइ छ ।
Leave a Reply