सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

 ग्लोबल टिभि      बुधबार, बैशाख ७, २०७९      0

वैशाख ७– सत्ता गठबन्धनले तीन दिनदेखि निरन्तर छलफल गरे पनि महानगर र उपमहानगरको सिट बाँडफाँटको टुंगो लगाउन सकेको छैन ।

आइतबार, सोमबार र मंगलबार दिनभर छलफल गरेका पाँच दलका शीर्ष नेताहरूले मंगलबार त आधा रातसम्म छलफल गरेका थिए । तीन दिनसम्म भएको छलफल र समझदारीबमोजिम बुधबार त्यसलाई अन्तिम रुप दिन निर्णायक बैठक बसेको नेताहरूले दाबी गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले पाँच दलका शीर्ष नेताहरूको बैठक बसिरहेको छ । बैठकमा कार्यदलका केही सदस्यहरू समेत सहभागी छन् ।

गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा चुनावी तालमेल गरी प्रतिस्पर्धामा जान लागेका हुन् । नेताहरूले सात बुँदे मापदण्ड बनाएर देशैभरि चुनावी तालमेल गर्न आह्वान गरेका छन् भने केन्द्रबाट छ महानगरपालिका र ११ उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख पद बाँडफाँट गर्ने प्रयास भइरहेको छ । नेताहरूका अनुसार बुधबारको बैठकले त्यसलाई अन्तिम रुप दिनेछ ।

नेताहरूका अनुसार गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको मेयर राखेको छ भने नेकपा माओवादी केन्द्रले भरतपुर, जसपाले वीरगन्ज र नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिने भएका छन् ।

त्यस्तै, उपमेयरतर्फ वीरगन्ज, चितवन र पोखरा महानगरपालिकाको उपमेयर नेपाली कांग्रेसले लिएको छ भने ललितपुरको उपमेयर माओवादी केन्द्रले पाएको छ । त्यस्तै, काठमाडौंको उपमेयर नेकपा एकीकृत समाजवादी र विराटनगरको उपमेयर जसपाले पाएको छ । दलहरूले अघिल्लो निर्वाचनमा जितेका स्थानीय तहलाई प्राथमिकतामा राखेर भागबन्डा गरेका हुन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *