केशव स्थापित र सुनिता डंगोलको चुनावी प्रचार शैली

 ग्लोबल टिभि      मङ्लबार, बैशाख २०, २०७९      0

बैशाख २०-नेकपा एमालेबाट काठमाडौँ महानगरपालिकामा मेयर पदका उम्मेदवार केशव स्थापितलाई आजभोलि भ्याइनभ्याइ छ । काठमाडौँ महानगरका मतदातालाई लक्षित गरेर भोट माग्न उनले समय निर्धारण गरेका छन्। बिहान ७ बजेदेखि ११ बजेसम्म र अर्को सिफ्ट दिउँसो ३ बजेदेखि बेलुका ६ बजेसम्म समय तालिका बनाएर उनी चुनाव प्रचारमा खटिएका हुन् ।

उनले मतदाताको घरदैलोमै पुगेर भोट माग्ने कार्यलाई बढी प्राथमिकता दिएका छन्। स्थापितले महानगरका एकदेखि छ नम्बर वडासम्म घरदैलो गरेर भ्याइसकेका छन्। यस्तै महानगरको १५, १८ र २१ वडामा पनि प्रचारप्रसार तथा घरदैलो सकिसकेका छन् । ‘काठमाडौंको मुहार फेर्न एक पटक केशव स्थापितलाई हेर्नुस्’ भन्दै नरम शैलीमा भोट माग्दै उनी घरदैलोमा जाने गरेका छन् । उनीसँगै उपमेयरकी उम्मेदवार सुनिता डंगोलले समेत भोट मागिरहेकी छिन्।

स्थापितले टोल भेला र सभा गर्ने भन्दा पनि घर दैलो गरेर मतदाता भेटेर भोट माग्नेलाई बढी प्राथमिकता दिएका छन्। मेयर र उपमेयरको पक्षमा माहौल राम्रो भएकाले जित सुनिश्चित भएको उपमेयरकी उम्मेदवार सुनिता डंगोलले दाबी गरिन् । ‘हामी चुनावी प्रचार गर्न जहाँ जहाँ गएका छौ। हाम्रो पक्षमा राम्रो माहौल बन्दै गएको छ,’ डंगोलले भनिन्,‘मेयर उपमेयर दुवैले जित्ने पक्का छ।’

काठमाडौँ महानगर केन्द्रीय राजधानीसँग जोडिएकाले भौतिक संरचना सहित स्वच्छ महानगर बनाउने डंगोलको दाबी छ। एमालेबाट महानगरलाई भौतिक संरचनाले सांस्कृतिक रूपमा भरिपूर्ण बनाउने योजना अघि सारिएको छ। यस महानगरमा कुल ३ लाख ५ सय ४ मतदाता छन्। सबैभन्दा बढी १६ नम्बरमा २० हजार १९९ मतदाता छन् भने कम मतदाता वडा नम्बर १ मा ३ हजार ९४१ जना छन्।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *