काठमाडौं । बैतडीको दोगदाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानीकी १७ वर्षीय बालिका भागीरथी भट्टको बलात्कारी र हत्यारालाई कारबाहीको माग गर्दै प्रचण्ड– नेपाल निकट अनेरास्ववियुले आज काठमाडौंमा बिरोध प्रर्दशन गरेको छ । माइतीघरमण्डलामा भएको विरोध प्रर्दशनमा अनेरास्ववियुका नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।
सो अवसरमा प्रर्दशनमा सहभागीले भट्टको बलात्कारी र हत्याराको पहिचान गरि अबिलम्ब कारबाहीको दायरामा ल्याउन माग गरेका थिए । उनीहरुले कानुनको निर्माण गरी बलात्कारीलाई फाँसी दिन माग गरेका थिए । साथै संसदको पुनस्थापना गर्नपनि प्रर्दशनमा सहभागीले माग गरेको संगठनका केन्द्रीय सदस्य रविनजंग बस्नेतले जानकारी दिए ।
बलात्कार जस्तो मानवताविरोधी अपराधका दोषीको पहिचान हुन नसक्नु र पीडितले न्याय पाउन नसक्नु राज्य अपराधप्रति संवेदनशील नरहेको स्पष्ट हुने अनेरास्ववियले जनाएको छ । गत बुधबार विद्यालय पढन गएको समयमा भट्ट हराएकोमा बिहीवार लवलेक जंगलको खोचलेक गिरेगडाको ग्रामिण सडकबाट करिब ५० मिटर तल झाडीमा विभत्स अवस्थामा उनको सव भेटिएको थियो । नेपालमा पछिल्लो समय बलात्कार र बलात्कारपछि हत्याका घटना दैनिक वृद्धि भैरहेका छन् । बलात्कारमा पर्ने मध्ये अधिकांश नाबालिका रहेका छन् ।
Leave a Reply