जेठ १३-नेकपा एमालेका सांसदहरुले आफ्ना पार्टी अध्यक्षप्रति संसदीय मर्यादाविपरीत शब्द प्रयोग गरेको भन्दै अवरुद्ध गरेको प्रतिनिधिसभाको बैठक सुचारु भएको छ । शुक्रबार बिहान ११ बजे सुरु भएको प्रतिनिधिसभाको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका थिए ।
बिहीबार ओलीले ३ घण्टा लगाएर दिएको मन्तव्यमा सरकारको ठूलो आलोचना गरेका थिए । त्यसको जवाफ दिँदै मन्त्री बडुले ओलीको आलोचना गरेपछि एमाले सांसदहरुले उनको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै संसदमा अवरोध गरेका थिए । १५ मिनेटका लागि भनेर रोकिएको संसद बैठक २ घण्टापछि सुरु भएको छ । त्यसबीचमा विभिन्न दलका प्रमुख सचेतक तथा सचेतकसँग सभामुख अग्नि सापकोटाले छलफल गरेका उनका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।
सभामुख सापकोटाले मन्त्रीले दिएको असंसदीय शब्द हटाउन रुलिङ गरेपछि बैठक सुरु भएको हो ।
Leave a Reply