नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आदिबासी जनजातिहरुलाई आफ्नो पक्षमा ल्याउनुपर्ने आवश्यकता रहेको बताएका छन्। नेपाली कांग्रेस आदिबासी जनजाति केन्द्रीय विभाग, नेपाल आदिबासी जनजाति संघले बिहिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘नेपाली कांग्रेस र आदिबासी जनजातिको सवाल विषयक प्रशिक्षण कार्यक्रम’ मा बोल्दै सभापति देउवाले आदिबासी, जनजाति तथा दलितहरुलाई आफ्नो पार्टीको पक्षमा ल्याउनुपर्ने आवश्यकता रहेको बताए।
उनले नेपाली कांग्रेस पार्टीले आदिबासी, जनजाति, महिला, दलित लगायतका सबैलाई आरक्षणको व्यवस्था गरेकोले कांग्रेस मात्रै समावेशी पार्टी भएको पनि बताए । कांग्रेस समावेशी पार्टी भएपनि उल्टो प्रचार भएकाले उल्टो प्रचारलाई चिर्दै आफ्नो पक्षमा ल्याउनुपर्ने आवश्यकता रहेको उनको भनाई छ । उनले भोली सरकार बनाउनुपर्ने अवस्थामा आदिबासी जनजातिको पनि साथ चाहिने उल्लेख गर्दै जनतालाई आफ्नो पक्षमा ल्याउन काम गर्न नेताहरुलाई निर्देशन समेत दिए।
सभापति देउवाले संसद विघटनको मुद्धा अदालतमा विचाराधिन भएकाले यस बारेमा नेपाली कांग्रेसले बोल्न नमिल्ने बताए । चुनावबाट सरकार बनाउने राजनीतिक व्यवस्थामा पार्टीले सधैँ चुनावको लागि तयारी गरिरहनुपर्ने भन्दै उहाँले आगामी दिनमा आउनसक्ने संसद पुर्नस्थापना अथवा चुनाव दुवैको तयारीमा रहन पनि निर्देशन दिए ।
Leave a Reply