बलात्कारपछि हत्या गरिएकी भागीरथीको हत्यारालाई काँग्रेसको माग

 ग्लोवल टि.भी.      शुक्रबार, माघ ३०, २०७७      0

काठमाडौं । नेपाली कांग्रेसले बलात्कारपछि हत्या गरिएकी बैतडीकी किशोरी भागरथी भट्टको हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न सरकारसँग माग गरेको छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै कांग्रेसले घटनाको अनुसन्धानलाई तीव्र बनाएर दोषीलाई तत्काल पक्राउ गर्न आग्रह गरेको हो। विज्ञप्तिमा बलात्कार र हत्याका हरेक घटनामा राज्यको अस्तित्व प्रभावकारी बनाउन माग गरिएको छ।

‘बैतडीको दोगडाकेदारकी किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न दोषी घटनाको दोस्रो साता प्रवेश गर्दासम्म पक्राउ नपर्नु, उनको शव अस्पतालमा रहिरहनु र परिवारजनले पिडामाथि पीडा भोग्नुको स्थितिलाई नेपाली कांग्रेसले दुःखद र गम्भीर रूपमा लिएको छ। अतः अनुसन्धान तीब्र बनाउन, दोषी अविलम्ब पक्राउ गर्न, बैतडी घटनासँगै देशभरका सबै यस्ता घटना विरुद्ध राज्यको अस्तित्व प्रभावकारी बनाउन नेपाली कांग्रेस प्रधानमन्त्री समक्ष माग गर्दछ,’ पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ।

देशमा बलात्कारका घटना बढ्नु चिन्ताको विषय भएको कांग्रेसको ठहर छ। ‘शान्ति स्थापना र संविधान निर्माण पश्चात देशमा अमन चयन स्थापना हुनेछ र नागरिकको जीवन सुरक्षीत बन्नेछ भन्ने विश्वास वितेका बर्षहरुमा कारुणिक ढंगले खण्डित हुँदै आएको छ,’ विज्ञप्तिमा उल्लेख छ,‘अनेक प्रकृतिको हिंसासंगै बलात्कार र बलात्कारपछि हत्याको जघन्य अपराध केही बर्ष यता डरलाग्दो ढंगले बढ्नु गम्भीर चिन्ताको बिषय बनेको छ।’

कांग्रेसले महिलामाथि हुने हिंसा र बलात्कार अनि हत्याका जघन्य अपराध बढेर जांदा राज्यले बिशेष नीति अख्तियार गरेर प्रशासनलाई थप बलियो बनाउन सरकारसँग आग्रह गरेको छ।

‘निर्मला पन्त प्रकरणका दोषी अझै कहिँ खुला घुमिरहेका छन् भने भागरथी र अरु धेरै छोरीको अपराधमा संलग्नहरु कानूनको कठघराभन्दा बाहिरै छन्। महिला उपर हिंसा र बलात्कार अनि हत्याका जघन्य अपराध बढेर जांदा राज्यले बिशेष नीति अख्तियार गर्न र प्रशासन संयन्त्रलाई थप तदारुक बनाउन सरकार समक्ष माग गर्दै नेपाली कांग्रेस यस्ता घटना विरुद्ध सिंगो समाजको सजगताका लागि अपील गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका–७ घर भई सनातन धर्म मावि खोच लेकमा कक्षा १२ मा अध्ययनरत १७ वर्षीया भागरथी भट्टको माघ २१ गते बलात्कारपछि हत्या भएको थियो।

कांग्रेसले जारी गरेको विज्ञप्तिः

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *