चीनसँग मित्रता बढाउन नेपाली काँग्रेस प्रतिबद्ध छ : नारायण खड्का

 ग्लोबल टिभि      शुक्रबार, असार १७, २०७९      0

असार १७-परराष्ट्र मन्त्री तथा नेपाली काँग्रेसका नेता नारायण खड्काले चीनसँग मित्रता बढाउन काँग्रेस प्रतिबद्ध रहेको बताएका छन् ।

काँग्रेसलाई भारत र पश्चिमा मुलुकहरूसँग नजिक रहेको र चीनसँग टाढा भएको अरोप लागिरहेको बेलामा मन्त्री खड्काले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभागका प्रमुख लिउ जियानचाओसामू उक्त कुरा बताएका हुन् । उक्त संवादमा सीपीसीका विदेश विभागका उपमन्त्री चेन झोउ पनि सहभागी थिए ।

मन्त्री खड्का र सीपीसीका विदेश विभाग प्रमुख लिउबीच बिहीबार भर्चुअल कुराकानी भएको थियो । केही समयअघि मात्र उक्त विभाग सम्हालेका लिउले असार ९ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र असार १० मा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टा–छुट्टै भर्चुअल कुराकानी गरेका थिए ।

चिनियाँ विदेश विभागका अनुसार लिउले चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्षयता दुवै पक्षले सधैँ एक अर्कालाई बुझ्ने र समर्थन गर्दै आएका उल्लेख गरे । उनले छिमेकी राष्ट्रहरूबीच समान व्यवहार, मैत्रीपूर्ण सहयोग र आपसी हितको नमुना रहेको बताए ।

उनले सन् २०१९ को अक्टोबरमा सीपीसीका महासचिव तथा चीनका राष्ट्रपति सी जिनपिङले नेपालको ऐतिहासिक भ्रमण गरेको उल्लेख गर्दै त्यसले चीन–नेपाल मैत्री सहयोगको नयाँ अध्याय खुलेको बताएका थिए । उनले सीपीसीले नेपाली काँग्रेसलगायत नेपालका सम्पूर्ण राजनीतिक दलहरु मैत्रीपूर्ण सम्बन्ध कामय र आदान–प्रदान गर्ने बताए ।

उनले यो वर्ष आयोजना हुने सीपीसीको २०औँ राष्ट्रिय महाधिवेशन आयोजना पार्टी र चिनियाँ जनताका लागि निकै महत्त्वपूर्ण रहेको प्रस्ट पारेका थिए । ‘यसले विश्वमा महत्त्वपूर्ण र सकारात्मक प्रभाव पार्नेछ,’ उनले भने । बैठकपछि चिनियाँ पक्षले नेपाली पक्षलाई सान्दर्भिक अवस्थाबारे जानकारी गराउन इच्छुक रहेको पनि जानकारी दिए ।

मन्त्री खड्काले सीपीसीलाई १०१ औँ स्थापना दिवसको शुभकामना दिएका थिए । उनले सीपीसीको १०० वर्षको गौरवशाली इतिहास विशेष गरी पार्टीको १८औँ राष्ट्रिय महाधिवेशनपछि चिनियाँ जनतालाई विश्व–विश्वको उपलब्धि हासिल गरेकोमा बधाई दिए ।

गरिबी निवारण, प्राविधिक आविष्कार, महामारीविरुद्धको लडाइँ, सामाजिक विकासलगायतका विषयमा नेपाललाई चीनले बहुमूल्य सहयोग गरेको भन्दै खड्काले धन्यवाद दिए ।

मन्त्री खड्काले नेपाली काँग्रेस पार्टी चीनसँग मित्रता विकास गर्न प्रतिबद्ध रहेको र ‘एक चीन सिद्धान्त’लाई दृढताका साथ पालना गर्ने बताए । उनले काँग्रेस स्वतन्त्र परराष्ट्र नीतिमा अडिग रहने र कुनै पनि शक्तिलाई नेपाली भूमि चीन विरोधी गतिविधिमा संलग्न हुन नदिने प्रस्ट पारे ।

उनले काँग्रेस र सीपीसीसँग संस्थागत आदान–प्रदानलाई सुदृढ गर्न, दुई देशबीच विभिन्न क्षेत्रमा व्यावहारिक सहयोग प्रवर्द्धन गर्न र नेपाल–चीन सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन इच्छुक रहेको पनि बताए । खड्काले चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशन पूर्ण सफलताको कामना गरे ।

यसअघि गत बिहीबार र शुक्रबार सीपीसी विदेश विभागका प्रमुख लिउ जियानचाओले नेपालका दुई मुख्य कम्युनिस्ट पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भिडियो संवाद गरेका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *