एलिना केसी । मेरो जन्म मध्यपश्ब्चिमको रुकुम जिल्लामा भएको हो । जसलाई अहिले भूगोलका आधारमा पूर्वी रुकुम र पश्चिम रुकुम भनेर दुई जिल्लामा विभाजन गरिएको छ । अझ मेरो जन्म स्थान ठ््याक्कै रुकुमकोट, हालको पुर्वी रुकुम ।
प्राकृतिक सुन्दरतासंगै जोडिएको रुकुमको अर्को उपनाम हो, माओवादीको जन्मथलो ।
रुकुमसंग जोडिएको अर्को छिमेकी जिल्ला रोल्पा । माओवादीको उद्गम स्थलकोको नामले चिनिदै आएका यी दुई जिल्ला, रुकुम अनि रोल्पा ।
रुकुम शब्द हरेक नेपालीको लागि माओवादीको जन्मस्थलको पर्याय बनेको छ । नजोडियोस पनि कसरी २०६२ – ६३ को दोस्रो जनआन्दोलनबाट २३८ वर्ष भन्दा लामो इतिहास बोकेको राजतन्त्र हटाउएर गणतन्त्र स्थापना गर्न यीनै भूमिमा जन्मेको सपुतहरूको बलिदानको उपज हो ।
राजतन्त्रको विरुद्ध आवाज उठाउने र लड्ने रुकुम, रोल्पा, सल्यान , बग्लुङ, म्याग्दी लगायत अन्य थुप्रै ठाउँका सयौं युवाहरू (महिला पुरुष दुवै) तथा साधारण जनता समेत माओवादीका नाममा मारिए । विपत्ता पारिए ।
कति नाबालक टुहुरा भए, कति आमाहरुले कोख रित्याए, कति नारीका सिउँदो पुछियो, सयौंले रगतको खोलो बगाएर जीवनको आहुति दिए । सुन्दा कता कता कुनै एकादेशको कथा जस्तो लागे पनि २०५२ सालदेखि २०६२ सालसम्म रुकुमबासीले भोग्नु परेको शास्वतः पीडा यहि नै थियो ।
म सानी अबोध बालिका, त्यतिबेला सधैं मेरो मनमा एउटै प्रश्न उब्जिन्थ्यो, मरिन्छ कि बाचिन्छ । यो बाहेक अरु सोच्न सक्ने क्षमता मसंग थिएन किनकी मेरो बालपन दिमागले धेरै सोच्न सक्दैन्थ्यो ।
आज या भोलि मरिन्छ, ठेगाना थिएन । माओवादी मार्न सेनाको हेलिकप्टरले ठाउँ–ठाउँमा बम खसालेको यी नाङ्गा आँखालेले प्राय देख्नु पथ्र्यो । घरका धुरी धुरिमा ठुलाठुला हेलिकप्टर घुम्थे, कराउथे ।
त्यो दृश्यले मुटु काप्थ्यो । कतिखेर कहाँनेर बम खसाल्छ थाहा नै हुदैनथ्यो । घरको चौतर्फी हवाई हमला भइराख्थ्यो ।
भनिन्छ नि जिन्दगी पढ्ने होइन भोग्ने कहानी हो । त्यस्तै जनआन्दोलनको हिंशात्मक घटना किताबका पानामा पढेका भन्दा धेरै कष्टकर तरिकाले देखेकी र भोगेकी छु बालपनमा नै ।
आज ती दिनहररूलाई स्मरण गर्दा हजारौं प्रश्न उब्जिन्छन मनमा । अनि प्रश्न गर्न मन लाग्छ त्यति बेलाका कमान्डरहरूलाई अर्थात अहिलेका नेताहरूलाई ।
रगतको खोलो बगाएर सयौं जनताले जिवनदान गरे । गणतन्त्र पनि ल्याए, तर पछि तिनिहरूले के पाए ? आन्दोलनमा जीवन आहुति दिएकाहरू कति शहिद घोषणा भए र उनका परिवारले राहत पाए ? कति अहिलेसम्म पनि वेपत्तामा रहे ?
कुटो, कुदालो, अनि घास दाउरा गर्दै लेक बेसीमा मेलापात गर्दै एउटा जीवनको रस अनि लयमा बाँचेका निमुख जनता जसले एकाएक परिवर्तनको नाममा बन्दुक बोके । तिनका हात अहिले कस्ता भएका होलान् ? मन मस्तिष्कले के सोची रहेको होला ?
परिवर्तनका धुनसंगै क्रान्तिका गीत गाउने गलाले अहिले एक गाँस खान पाएका छन् कि छैनन् होला ? यस्ता हजारौं प्रश्न उब्जिरहन्छ मनभरी । सम्झिदा मात्रै पनि कहाली लाग्छ कति अझै । रुन्छ मन धरधर । म एक नाबालक युद्ध दर्शीको पिडा त यस्तो । अझ स्वयम वन्दुक समाएर लड्नेहरूको दिनचर्या र मनस्थिति कस्तो होला ।
तर के गर्नु बिडम्बना त्यै त हो नि । बाचुन्जेल सम्झनाको निशानी । मरेपछी माटो र खरानी भने जस्तै । देश परिवर्तनका बेला मर्ने मरेर गइहाले, बाँच्नेहरुलाई वास्ता छैन ।
सोझा जनतालाई नेताहरुले झुटा सपनाका महल देखाए । झुटा आशा, विस्वास देखाए । देश परिर्वतनको आशा बोकेर युद्वमा गए । तर अहिले तिनीहरु मध्य अधिकांश विदेश पलायन छन् । प्रवासमा गएर ईलम गर्न बाध्य छन् । कोहि अझै बेपत्ता छन् । अझ दुख लाग्दो कुरा त युद्वमा हिडेका अझै घर फर्केका छैनन् । कतिपय गाउँघरमै कुटो ,कोदालो ,गोठालो गरेर दिन कटाईरहेका छन् । गाउँ गाउँबाट बन्दुक लड्नेहरु अझै गाउँमै खेती किसान गरेर बसेका छन्।
उनिहरु अहिले राजनिति, आन्दोलन, जनयुद्वको बारे सुन्न पनि चाहँदैनन् । बिगतमा फर्किनै चाहाँदैनन् । तर शहरबाट लड्ने नेताहरु सहरमै मस्तको विलासीता जिन्दगी बिताइरहेका छन् ।उनिहरुलाई पनि विगतमा फर्किन मन नभएको होला रुकुम, रोल्पा, सल्यान जस्ता कुना कन्टरा विकट गाउँमा एकपटक फर्केर पनि गएका छैनन् । कति ठाउँमा अहिले सम्म पनि पानी , बिजुली , सडकको व्यवस्था छैन । त्यती मात्र कहाँ हो र घर नजिक विद्यायालय समेत छैन । घन्टौँ हिडेर स्कुल जान बाध्य छन् । रुकुम ,रोल्पाको परिवेश २५ वर्ष सम्म पनि फेरीएको छैन । अनि केका लागी गणतान्त्रीक मुलुक भनेर कुर्लीरहन्छन् नेताहरु । जुन गाउँका सोझा नागरिक देश परिवर्तनका लागि कलम समाउने हातले बन्दुक बोके अहिले त्यही गाउँका नागरिक अभावै अभावले गुज्रीएका छन् । परिवर्तनका धुन संग हिड्न खोज्दा आफ्नो वास्तविक जिन्दगीको धुन नै कस्तो हुन्छ भूलि सके । देश विकाश गर्ने नाममा कति युवा वेरोजगार छन् , कति अशिक्षीत छन् । तर अहिले नोताले खोल तरे लठ्ठी भूले झै व्यवहार गरि रहेका छन्
तर परिवर्तनको सपना देखाएर युद्ध मोर्चामा लडेकाहरुको घाउ सुकेको छैन । पीडा हराएको छैन ।
कुनै समय यस्तो थियो रुकुम, हरेक दिन हेलिकप्टरबाट बम बारुद बर्षिन्थ्यो । माओवादी तीतरवितर हुन्थे । कहिले लाग्थ्यो, अवोध मानिसहरु ठाउँ ठाउँ मारिन्थे । कति घाइते भागाभाग गर्थे । आफू बाच्नको कै लागि होला सर्वसाधारणका घर घरमा थर्काउदै खाने र बस्न बाध्य थिए माओवादीहरू ।
उनीहरूको लागि न खानको टुङ्गो थियो न बस्नको लागि बासको ठेगाना । यसरी भोकभोकै आन्दोलनमा उत्रिरहे र १७ हजार भन्दा बढिले ज्यान गुमाए ।
अपसोच मेरै परिवारका सदस्य पनि सहिद भए । तर उनीहरुलाई शहिद घोषणा पनि गरिएन । उनीहरुको सपना अनुरुप कुनै परिवर्तन भएन । देशमा केबल नाम मात्रको परिवर्तन भयो ।
शासन, सत्ता र व्यवस्था उही रह्यो । परिवर्तनको लागि जीवन अहुति दिनेहरूको सपना ज्यूका त्यू रहेपनि अमर सहिदहरूकोे आत्माले सधै शान्ती पाओस । अन्तरआत्मबाट चिरशन्तीको कामना ।
अनि बाचेकालाई प्रश्न गर्न मन लाग्छ, अहिले के गर्दैछन् होलान् ती आन्दोलनकारीहरू ? द्धन्द्धमा होमिएर के पाए होलान ?
के उनीहरुले चाहेको परिवर्तन यही हो ?
देश परिवर्तन गर्ने बाहानामा केही नेताहरू सत्ताको मोह लागेर कुर्सी तानातान गर्दैमा ठिक्क छन् । तर आन्दोलनमा उत्रिएका गरिब जनताले के पाए ?
कुर्सी मोहमा हरबखत लडिरहेका नेताहरू त्यो कुर्सीसम्म पु¥याउनु जीवन आहुति गरेका शहिदहरूका सपनाप्रति कतिको सचेत छन ? कतिले सोच्छन ?
युद्धबाट जनता र देश विस्तारै शान्तिमा त आयो । प्रजातान्त्रिक व्यवस्थाबाट गणतान्त्रिक नयाँ मुलुक पनि बन्यो । तर गरिब जनताका दुख सकिएनन् । युद्धमा बाचेकाहरूको शरीर भरी गोलिका डोव र छियाछिया पिडाहरू मात्र वचेका छन् । तर पनि उनिहरूका सपना अझै जिवितै छन् ।
Leave a Reply