बिकास रौनियार,धादिङ । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनबाट नेपालको संविधान, लोकतन्त्र र स्थायित्वमाथि प्रहार भएको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आरोप लगाएका छन् । संसद् विघटनको असंवैधानिक कदमको विरोधमा नेपाली कांग्रेस धादिङले आयोजनामा गरेको विरोध र्याली तथा सभामा बोल्दै नेता पौडेलले वर्तमान प्रधानमन्त्रीले घोषणा गरेको चुनावले कुनै पनि हालतमा स्थायित्व नल्याउने ठोकुवा गरे।
पौडेलले भने, ‘झण्डै झण्डै दुईतिहाइको सरकार चलाइरहेको ओलीले पार्टीभित्रको विवादका कारण संसद् भंग गरे, भएको स्थायित्वलाई कायम राख्न नसक्ने अनि स्थायित्वको लागि चुनाव भनेर मात्रै हुन्छ ?’ प्रधानमन्त्री ओलीको स्वेच्छाचारी प्रवृत्ति र सनकले संसद् विघटन भए पनि सर्वोच्च अदालतले जनताको पक्षमा फैसला गर्ने आफूलाई विश्वास रहेको पौडेलले बताए। ‘नेपालको राजनीतिक घटनाक्रममा ठूला ठूला संकटबाट देशलाई सर्वोच्च अदालतले बचाएको छ। राजा महाराजाहरुका कदमलाई पनि सर्वोच्च र संसद्ले खारेज गरिदिएको छ’, पौडेलले भने, ‘सर्वोच्च अदालतमा रहेका न्याय मूर्तिहरुले संविधानको पाना-पाना अध्ययन गरेर प्रधानमन्त्री ओलीको दवाव र प्रभावमा नपरी अहिलेको संकटमा नेपाललाई बचाउने गरि फैसला गर्नुहुनेछ।
’विगतमा पटक(पटक संसद् विघटन गरेर देशलाई अस्थिरतामा धकेलेको र विकास र समृद्धिमा घाटा पुर्याएको तीतो यथार्थ सम्झँदै अहिले बनाएको संविधानमा प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नै नदिएको पौडेलले बताए। उनले भने, ‘जतिजति पटक संसद् विघटन भएको छ, देशले उति नै क्षति बेहोरेको छ, यसैबाट भुक्तभोगी भएर हामीले संविधानमा प्रधानमन्त्रीले संसद् विघटन गर्नै नपाउने प्रावधान राखेका थियौं।’ वर्तमान अवस्थाले कांग्रेसको काँधमा राष्टप्रतिको अझै ठूलो जिम्मेवारी थपिएको पौडेलले बताए। कांग्रेस प्रजातन्त्र, लोकतन्त्र र जनता प्रति सधैं उत्तरदायी बन्दै आएको बताउँदै नेता पौडेलले कांग्रेसका नेता कार्यकर्ता पनि जता अवसर उतै लाग्ने मात्र नभइ राष्ट्र बचाउने र बनाउने जिम्मेवारीमा रहन आग्रह गरे। नेपाली कांग्रेसले पूर्ण कार्य समिति बसेर सर्वसम्मत संसद् विघटनको विरोधमा जाने निर्णय भएको बताउँदै सम्पूर्ण कार्यकर्तालाई देउवा र पौडेल नभनी लोकतन्त्र र संविधानको रक्षामा उत्रिनको लागि आग्रह गरे। विरोध सभाअघि धादिङवेशीको पुछारबजारबाट सुरु भएको विरोधर्याली बजारको विभिन्न भाग परिक्रमा गरी विरोध सभा स्थल खुल्ला मञ्चमा पुगेको थियो। सभामा सहभागी हुनको लागि धादिङको १३ वटै स्थानीय तहहरुमा कांग्रेसले कार्यकर्ता सदरमुकाममा उतारेको थियो।
Leave a Reply