पत्रकारितामा पारिश्रमिकको कुरा मुख्य चुनौतिको रुपमा देखा पर्यो – सरोकारवाला

 ग्लोबल टिभि           0

काठमाडौं । पत्रकारितामा पारिश्रमिकको कुरा मुख्य चुनौतीको रुपमा आएको पत्रकारहरुले बताएका छन् ।

बुधबार नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशनका लागि काठमाडौंमा भेला भएका पत्रकारहरुले पत्रकारिता क्षेत्रमा विभिन्न चुनौतीहरु रहेपनि पत्रकारहरुले पाउने पारिश्रमिक नै प्रमुख चुनौतीको रुपमा देखा परेको बताएका हुन् । पत्रकारहरुले सञ्चार माध्यमबाट तोकिएको पारिश्रमिक नपाउने तथा पाएपनि ढिलो गरी पाउने भएकाले पत्रकारहरु समस्यामा पर्ने गरेको बताएका छन् ।

सुर्खेतबाट गोरखापत्र सम्वाददाता मुना हमालले मोफसलका मिडियामा पारिश्रमिककै अप्ठ्यारो रहेको बताउनुभयो । न्यूनतम पारिश्रमिक नपाउने समस्यासँगै मिडियाले तोकेकै पारिश्रमिक पनि पाउने अवस्था नरहेको उहाँको भनाई छ । महिला पत्रकारमाथि झनै पारिश्रमिक र जिम्मेवारीमा नै भेदभावपूर्ण व्यवहार हुने गरेको भन्दै उहाँले महिला पत्रकारहरु पत्रकारितामा टिकिरहन समस्या रहेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष राजन कार्कीे कोभिड १९ पछि पत्रकारिताको अवस्था लथालिङ्ग भएको बताउनुहुन्छ । स्थानीयस्तरमा धेरै सञ्चारमाध्यमहरु खुलेका भएपनि स्थानीय सरकार पत्रकारमैत्री नुहुँदा चुनौतीहरु उत्पन्न हुने गरेको उहाँको भनाई छ । पत्रकारहरुको शान्ति सुरक्षाको समस्या पनि भयावह रुपमा बढेको उहाँले बताउनुभयो ।

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष शन्तराम बिडारीले कोभिड–१९ को बाहानामा पत्रकारहरु जागिरबाट निस्किने तथा पारिश्रमिक नपाउने समस्या उत्पन्न भएको बताउनुभयो । ठूला मिडिया हाउसहरु केवल व्यवसाय उन्मुख मात्रै भएको उहाँको भनाई छ । साना तथा स्वरोजगारमुखि मिडिया जीवन मरणको संकटमा रहेको अध्यक्ष बिडारीले बताउनुभयो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामप्रसाद दाहालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने खालका कानूनहरु नआउन् भन्ने तर्फ ध्यान दिनुपर्ने बताउनुभयो । श्रमको मूल्य पाउने वातावरण बनाउनुपर्ने अर्को चुनौती रहेको उहाँको भनाई छ । कोभिड–१९ बाट थलिएका स्वरोजगारमुलक मिडियाको निरन्तरताको प्रबन्ध गर्नुपर्ने अवस्था रहेको दाहालले बताउनुभयो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव रेम बिश्वकर्माले पत्रकारहरुले स्वतन्त्र रुपले लेख्न, बोल्न पाउने वातावरण बन्न नसकेको बताउनुभयो । त्यस्तै पारिश्रमिक नपाउने, परिचयपत्र प्रदान तथा नविकरणका पनि समस्या रहेको उहाँको भनाई छ । विभिन्न राजनीतिक पार्टी तथा सरकारबाट धम्की आउने चुनौती रहेको उहाँले बताउनुभयो ।

विश्वकर्माले स्वतन्त्र पत्रकारिताको निम्ति राज्य पनि जवाफदेहि हुनुपर्ने बताउनुभयो । राज्यले भयरहित र स्वतन्त्र तरिकाले काम गर्ने वातावरण दिनुपर्ने उहाँको भनाई छ । मिडिया हाउसले पनि पत्रकारहरु आफुुहरुको खम्बा ठानेर सम्मान गर्नुपर्ने उहाँले बताउनुभयो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *