कोभिड विरुद्धको खोप लगाउने विषयमा स्पष्ट खाका ल्याउन काँग्रेसको माग

 ग्लोबल टिभि           0

काठमाडौं । नेपाली कांग्रेसले कोभिड–१९ विरुद्धको खोप लगाउन स्पष्ट खाका सहितको स्वेतपत्र सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।
कोभिड–१९ विरुद्धको खोप लगाउने विषयमा सरकार गम्भिर नभएको भन्दै कांग्रेसले सबै जनतालाई खोपको सुनिस्चितता दिनेगरी कार्ययोजना सहितको स्वेतपत्र सार्वजनिक गर्न माग गरेको हो ।

बिहीबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा कांग्रेस सह–महामन्त्री प्रकाशशरण महतले स्पष्ट खाका सहितको विस्तृत कार्ययोजना सार्वजनिक गर्न सरकारसँग माग गरे । खोप खरिद गर्नुपर्ने खण्डमा खरिद प्रक्रिया पारदर्शी हुनुपर्ने र त्यसको विश्वसनियताको विषयमा जनतालाई सुनिश्चित गर्न जरुरी रहेकोमा महतको जोड थियो ।

उनले भने ‘खोप खरिद गर्नुपर्ने खण्ड छ भने त्यो खरिद प्रक्रिया पनि पारदर्शी, सुरक्षा र विश्वसनियताको बारेमा पनि नेपाली जनतालाई सुनिस्चित गर्न जरुरी छ । त्यसको सुस्पष्ट खाका सहितको विस्तृत समयकालिन कार्यतालिका सहित, स्रोत सहितको कार्ययोजना सरकारले सार्वजनिक गर्नुपर्छ । यो हामी माग गर्छौं ।’

खोप लागउने विषयमा सरकार गम्भिर नभएको पनि सह–महामन्त्री महतको आरोप छ । भारतले १० लाख खोप निःशुल्क दिएको र सो खोप दिन थालिएपनि पारदर्शी कार्ययोजना आउन नसकेको महतको भनाई छ । उनले भने ‘पछिल्लो दिनमा खोप विभिन्न संस्थाहरुले तयार गरेका छन त्यो खोप नेपालमा खोप लगाउने विषयमा सरकार गम्भिर भइराखेको छैन । भारतले १० लाख निःशुल्क दिएको कुरा छ र त्यो खोप दिन थालिएको भनिएको छ । तर पारदर्शी कार्ययोजना आएको छैन । सरकारले प्रस्तुत गरेको छैन ।’

सबैभन्दा पहिला अग्रपंतिमा काम गर्नेलाई पहिलो प्राथमिकतामा राखेर खोप दिने कुरा ठिक भएपनि ज्येष्ठ नागरिकलाई कसरी खोप दिने भन्ने कुराको कार्ययोजना ल्याउन नसकेको उनको धारणा छ । निःशुल्क खोप कहाँकहाँबाट आउँदै छ र रकम तिरेर ल्याउने कार्ययोजना के छ भन्ने विषयलाई सरकारले स्पष्ट पार्नुपर्ने पनि सह–महामन्त्री महतले बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *