नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालमा कम्युनिस्टले लोकतन्त्रलाई धरापमा पारेको बताएका छन् । उनले सरकार सञ्चालन गर्ने म्यान्डेट पाएको कम्युनिस्टको बहुमत पार्टीभित्रको विवाद मिलाउन नसक्दा अध्यक्षले राजीनामा दिएर समस्या समाधान गर्नुपर्नेमा प्रतिनिधिसभा विघटन गरेर देश र जनतालाई प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या भण्डारीले धोका दिएको बताए ।
पौडेलले जनताको अथक संघर्ष र बलिदानपछि बनेको संविधानले मार्गदर्शन गरेको सोझो बाटोमा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारी हिँड्न नचाहँदा देश, जनता र संविधानको भविष्य धरापमा परेको बताए ।
शुक्रबार धरान उपमहानगरपालिकाद्वारा आयोजित एक कार्यक्रममा नेता पौडेलले भने, ‘पाँच वर्षसम्म जनताले बहुमत दिएर देशमा समृद्धि ल्याउने अवसरलाई गुमाएका छन् । संविधानलाई सडकमा छताछुल्ल पारिएको छ ।’ उनले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले पार्टीभित्रको विवाद मिलाउन नसकेर आफू नभए कुर्सी नै फाल्ने अहंकारी र असहिष्णु प्रवृत्ति देखाउँदै ऐतिहासिक भुल गरेको बताए ।
Leave a Reply