प्रदेश एकका मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्ताव सदनमा पेस भएको छ । आइतबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री राई विरुद्धको अविश्वास प्रस्तावका प्रस्तावक इन्द्रबहादुर आङ्बोले प्रस्ताव टेबुल गरेका हुन् । अविश्वासको प्रस्तावको समर्थक लक्ष्मण तिवारी रहेका छन् ।
मुख्यमन्त्री राई विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले १२ पुसमा अविश्वसको प्रस्ताव दर्ता गरेको थियो । नेपालको संविधानको धारा १८८ (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १२९ (१) बमोजिम अविश्वासको प्रस्ताव पेस भएको हो ।
९३ सदस्यीय प्रदेश सभामा नेकपाका ६७, कांग्रेसका २१, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १÷१ जना सांसद रहेका छन् ।
मुख्यमन्त्री राईविरुद्ध नेकपा दाहाल–नेपाल समूहका ३७ जना सांसदहरुले हस्ताक्षर गरी अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ती मध्ये ४ जना सांसदले हस्ताक्षर फिर्ता लिएका छन् । प्रदेश सभामा बहुमतका लागि ४७ जना सदस्य आवश्यक हुन्छ । प्रदेश सभाको अर्को बैठक फागुन २० गते बोलाइएको छ ।
Leave a Reply