नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधि सभा विघटनको विषयमा सर्वोच्च अदालतले उपयुक्त निर्णय गर्ने विश्वास व्यक्त गरेका छन् । मंगलबार काठमाडौंमा ‘जनयुद्धको हस्ताक्षर’ पुस्तक विमोचन समारोहमा अध्यक्ष दाहालले प्रतिनिधि सभा विघटन सम्बन्धि अदालतमा रहेको मुद्दाको सही फैसला हुने विश्वास व्यक्त गरेका हुन् ।
७० वर्षको आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षाका लागि अहिले विभिन्न ढंगले लडाईं चलिरहेको अवस्थामा अदालतले सही फैसला गर्छ भन्ने आफूलाई विश्वास लागेको उनले बताएका छन् । ‘लडाई विभिन्न ढंगले चलिरहेकै छ । हाम्रो अदालत प्रति विश्वास छैन भन्न खोजेको होइन । मैले सबै सभामा भनेको छु,अदालतमा मुद्दा छ । अदालतले सही फैसला गर्छ भन्नेमा हामीलाई विश्वास छ ।’ अध्यक्ष दाहालले भने ।
संसद विघटनलाई प्रतिगमनको संज्ञा दिदै दाहालले अहिले भएको आन्दोलनलाई शान्तिपूर्ण युद्ध मान्नुपर्नेमा जोड दिएका छन्। उनले भने, ‘पौष ५ गतेदेखि आज फागुन ११ गते सम्म हामी नयाँ युद्ध लडिरहेका छौं । देशव्यापी युद्ध चलिरहेको छ । तपाई–हामी सबै युद्धमै छौं । अर्को पक्षले राज्यको शक्ति प्रयोग गरेर दबाउन प्रयास गरिरहेको छ । हामी रक्तपातबिहिन, शान्तिपूर्ण र नयाँ प्रकारको युद्धमा छौं ।’ धेरै दुःखले पार्टी एकताबद्ध गरिएको उल्लेख गर्दै अध्यक्ष दाहालले अहिले विभाजन गर्न ठूलो षडयन्त्र भइरहेको गुनासो गरेका छन् ।
Leave a Reply