पुष्पकमल दाहाल र माधव कुमार नेपाल समूह नेतृत्वको नेकपाले बुधबार देशभर विजय जुलुस गर्दैछ । नेकपाको केन्द्रीय संघर्ष समितिले सर्वोच्च अदालतको फैसलबाट प्रतिनिधि सभा पुनःस्थापना भएको खुशियालीमा काठमाडौँ उपत्यकासहित देशैभर विजय जुलुस गर्न लागेको स्थायी कमिटि सदस्य देवेन्द्र पौडेलले ग्लोवललाई जानकारी दिए ।
विजय जुलुसलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र माधव कुमार नेपाल लगाएतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको पौडेलको भनाइ छ । विजय जुलुस भने रत्नपार्कको शान्तिबाटिकामा हुनेछ । शान्तिबाटिकाको जुलुस मध्यान्ह १२ बजे सुरु हुनेछ । जसका लागि जिल्लामा भएका कतिपय नेताहरु राजधानी काठमाडौं फर्किरहेका छन् ।
यस्तै देशभरका जिल्ला सदरमुकाममा पनि विजय जुलुस हुनेछन् । बिहान ८ बजेपछि नै जिल्ला सदरमुकाममा विजय जुलुस सुरु हुने पौडेलले बताए । गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन् । जसलाई मंगलबार सर्वोच्चले बदर गरिदिएको छ ।
Leave a Reply