‘ओलीको बोली तरंग’

 ग्लोबल टिभि           0

लालकुमार मोक्तान l मुलुकका कार्यकारी प्रधानमन्त्री केपी शर्मा ओली आफु समेत असुरक्षित रहेको अभिव्यक्तिका कारण यति वेला चर्चाको शिखरमा छन् । गत संसदीय निर्वाचन अघि देश वनाउने चरम महात्वाकांक्षी सपना र उग्र राष्ट्रवादको नारा दिएर सत्तामा पुगेका ओलीले आफ्नो अक्षमता लुकाउन नयाँ उपाय लगाउनु आम नेपालीका लागि अनौठो विषय होइन ।

नेकपा भित्रको आन्तरिक विवाद समाधान गर्न नसकेर संसद भंग गरेका प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतबाट आफ्नो कदमलाई असंवैधानीक प्रमाणित भए पछि जनताको ध्यान अन्यत्र मोड्न आफू असुरक्षित रहेको नयाँ पासा फालेका छन् । चारवटै सुरक्षा निकायका तीन सयभन्दा बढी शसस्त्र सुरक्षाकर्मीको घेराबन्दीमा रहने प्रधानमन्त्री आफै असुरक्षित रहे भने आम जनताको हालत के होला भन्ने प्रश्न उव्जिएको छ ।

सोमवार पोखरामा नेकपा ओली समूहले आयोजना गरेको गण्डकी प्रदेश स्तरीय कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले आफुमाथि भौतिक हमला हुनसक्ने बताएका थिए । पार्टीलाई ठिक ढंगले अघि बढाएको र सरकारका कामकारवाहीलाई गतिशिल बनाएको हुनाले आफुमाथि प्रहार भइरहेको प्रधानमन्त्रीको भनाईले राजनीतिलाई तरंगित बनाएको छ ।

कास्कीको कार्यक्रममा उनले भनेका थिए,‘म माथि कुनै शारीरिक हमला नै भयो भने पनि तपाईहरु अनौठो नमान्नुहोला ।’ ‘तर, म त्यो हुन दिने छैन, हामी सतर्कता अपनाउनेछौं । म रहिन भने पनि केहि छैन । पार्टी छ, आन्दोलन छ ।’

आफ्नो व्यक्तिगत राजनीतिक स्वार्थका लागि ओलीले यस्तो अभिव्यक्ति दिएको हुनसक्ने सुरक्षा निकायका अधिकारीहरुको वुझाई छ । तर प्रधानमन्त्रीको सुरक्षा बोलीवाट निकायको मनोवल गिराउने काम भए पनि उनीहरु यस सम्वन्धमा खुलेर कुरा गर्न तयार छैनन् ।
पूर्व रक्षामन्त्री भिमसेनदास प्रधानले ग्लोवल टेलिभिजनसँगको कुराकानीमा भने ‘राजनीतिक व्यक्तिले जोखिम लिन आँट गर्नैपर्छ, तर सुरक्षा निकायको छवि नै धुमिल हुनेगरि आएको प्रधानमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण छ ।’

जनादेश अनुसार काम गर्न नसकेर जनताको ध्यान मोड्न जथाभावी बोल्दै हिड्नुको साटो प्रधानमन्त्रीले आफ्नो बोलीमा लगाम लगाएर देश र जनताको हित हुने प्रधानको सुझाव छ ।

‘उहाँ (प्रम ओली)ले निर्वाचन आयोग र अदालतलाई समेत धम्क्याउनुभयो । संविधान माथि ‘कु’ गर्ने प्रयास गर्नुभयो ।’ प्रधानले भने, ‘व्यवस्थालाई नै वर्वाद पार्न प्रयोग गरिएका सबै अस्त्र फेल भएपछि सहानुभूतिका लागि मात्रै यस्तो बोलेको हुनसक्छ अथवा राजीनामापछि म असुरक्षित हुन्छु भन्ने प्रधानमन्त्रीलाई लागेको हुनसक्छ ।’

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सेनाका दुइ सय, सशस्त्र प्रहरीका ३५, नेपाल प्रहरीका ७५ र गुप्तचरका ५ गरी तीन सय १५ सुरक्षाकर्मी तैनाथ छन् । प्रधानमन्त्रीको सवारीका लागि अगाडि र पछुवा गाडीमा नेपाली सेना र नेपाल प्रहरीका ३० जना सुरक्षाकर्मी तैनाथ रहन्छन् । तर, पनि प्रधानमन्त्रीले आफू असुरक्षित छु भन्नुको पछाडी व्यक्तिगत राजनीतिक स्वार्थ वाहेक केही नभएको सुरक्षाविज्ञहरुको बुझाई छ ।

पूर्व डिआइजी हेमन्त मल्ल प्रधानमन्त्रीको अभिव्यक्ति समय सान्दर्भिक नभएको तर्क गर्छन् । जनमानसलाई नै दोधारमा राख्ने तवरले आएको अभिव्यक्तिमा सत्यता नभएको उनको ठम्याइ छ । मल्लले भने, ‘प्रधानमन्त्रीले आफुलाई असुरक्षित महशुस भएमा सुरक्षा निकायलाई खबर गर्ने हो । कार्यकारी प्रमुखले सार्वजनिक अभिव्यक्ति दिँदै हिँड्नु राम्रो होइन ।’

साधारण मानिसले आफु असुरक्षित भएको भन्न मिल्छ । तर, चारै वटा सुरक्षा निकायको बलियो सुरक्षा घेराभित्र रहने प्रधानमन्त्री असुरक्षित कसरी हुन्छ ? उनले प्रति प्रश्न गरे ।

गत पुस ५ गते आफूले विघटन गरेको संसद सर्वोच्च अदालतको आदेशले पुनस्थापित भएपछि प्रधानमन्त्री ओली दवावमा छन् । यही फागुन २३ गते संसद पुनस्र्थापित संसदको अधिवेशन सुरु हुदैछ । पार्टी भित्रैबाट राजीनामाको माग हुनसक्ने र त्यस्तो अवस्था आएमा संसद फेस गर्न झनै कठिन हुने आंकलन गरेर उनले हतास मानसिकतामा गैर जिम्मेवार अभिव्यक्तिको सहारा लिन खोजेको हुन सक्ने कतिपय विश्लेषकको बुझाई छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *