म्यानमारमा भएको नरसंहारको विरोधमा नेपालका नागरिक अगुवाहरुले प्रदर्शन गरेका छन् । शुक्रबार नागरिक अगुवाहरुले प्रतिगमन विरुद्ध बृहत नागरिक आन्दोलनको ब्यानरमा ललितपुरस्थित म्यानमारको दुतावास अगाडी प्रदर्शन गरेका हुन् । प्रदर्शनमा नागरिक आन्दोलन जारी छ, म्यानमार नरसंहार बन्द गर, हामी म्यानमारका जनताको साथमा छौँ लगायत लेखिएका प्लेकार्डहरु प्रदर्शन गरिएका छन् ।
त्यस्तै, म्यानमार नरसंहारबारे अन्तराष्ट्रिय समुदाय बोल, म्यानमार सरकार नागरिक हत्या बन्द गर लगायत लेखिएका प्लेकार्ड देखाउँदै आ–आफ्नो तीनवटा औँला देखाएर प्रदर्शन गरिएको हो ।
प्रदर्शनमा नागरिक अगुवा खगेन्द्र संग्रौला, डा. गोविन्द केसी, नारायण वाग्ले, युग पाठक लगायतकाको सहभागिता थियो । प्रदर्शनलाई सम्बोधन गर्दै नागरिक अगुवा खगेन्द्र संग्रौलाले स्वतन्त्रताप्रेमी, लोकतन्त्र र स्वायत्तताप्रेमी नागरिकहरु म्यान्मारका नागरिकहरुलाई एक्येवद्धता जनाउन सडकमा आएको बताए । विरोध प्रदर्शनमा म्यानमारको सैनिक दमनलाई सांकेतिक रुपमा देखाउन कलाकारहरुले प्रस्तुति पनि देखाएका छन् ।
म्यानमारमा फेब्रुअरी १ मा सेनाले आफ्नो हातमा सत्ता लिएपछि विरोधमा निरन्तर आन्दोलन हुँदै आएको छ । संघर्षका क्रममा चार दर्जनभन्दा बढी नागरिकहरुले ज्यान गुमाइसकेका छन् ।
Leave a Reply