संसदमा नेकपा दुई समूहको भूमिका कस्तो ?

‘पर्ख र हेर’को स्थितिमा कांग्रेस र जसपा

 ग्लोबल टिभि      आइतवार, फाल्गुन २३, २०७७      0

लालकुमार मोक्तान । पुनस्र्थापनापछि प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा अपराह्न ४ बजे बस्ने बैठकका लागि दुई वटा कार्यसूची आईसकेको छ । पछिल्लो पटक जारी भएको कार्यसूची अनुसार सभामुखले राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउने अनी सदन विघटन भए यता मृत्यु भएका सांसद र पूर्व सांसदहरु प्रति श्रद्धाञ्जली प्रकट गरी बैठक समापन गर्ने तयारी छ ।

सत्तारुढ दल नेकपा भित्रको विवादका कारण आजको बैठकलाई निकै चासोका साथ हेरिएको छ । प्रधानमन्त्रीले राजीनामा दिन्छन् की दिदैनन् वा प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव पेस हुन्छ कि हुदैन भन्नेमा बढी चासो छ । यद्यपी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ओली र दाहाल–नेपाल दुवै समूह, मुख्य विपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी एक अर्काको रणनीतिलाई नजिकबाट नियाल्ने र सोही अनुरुप अघि बढ्ने रणनीतिमा देखिन्छन् ।

प्रधानमन्त्री विरुद्ध यसअघि अविश्वासको प्रस्ताव दर्ता गरेको दाहाल–नेपाल समूहले ओलीको राजीनामा माग गर्दै आएको छ । राजीनामा नदिए संसदमा अविश्वासको प्रस्ताव पेश गरेर भएपनि हटाउने भनेर उसले दवाव वढाई रहेको छ । प्रमुख सचेतक देव गुरुङले ग्लोवल टेलिभिजनसंगको कुराकानीमा भने,‘आइतबार बस्ने बैठकमा प्रधानमन्त्रीले राजीनामा गर्ने कुरामा कुनै शंका छैन ।

उहाँले राजीनामा गरी नयाँ प्रधानमन्त्री चयनका लागि उहाँले मार्ग प्रशस्त गर्नुहुनेछ । ’उनले भने, ‘ओलीले राजीनामा नदिए यसअघि पनि हामीले अविश्वासको प्रस्ताव दर्ता गरिसकेका छौँ । सोही अनुरुप अन्य दलसँगको परामर्शका साथ अगाडि बढ्छौँ ।’ तर, दाहाल–नेपाल समूह भनेजस्तै सजिलै राजीनामा दिने पक्षमा प्रधानमन्त्री ओली देखिदैनन् । ओली समूहका नेता खिमलाल भट्टराई भने प्रधानमन्त्री ओली अहिले नै राजीनामा दिने पक्षमा नरहेको दिने स्पष्ट पारे ।

मुख्य विपक्षी दल नेपाली कांग्रेस संसदमा नेकपाका दुवै समूहले खेल्ने भूमीकालाई हेरेर मात्रै अघि बढ्ने रणनीतिमा छ । नेकपाका दुवै समूहले पार्टी सभापति शेरबहादुर देउवालाई यसअघि नै प्रधानमन्त्री बन्न प्रस्ताव गरिसकेका छन् । तर, पार्टी भित्र देउवालाई रोक्न रामचन्द्र पौडेल पक्ष लागि परेको र नेकपा विभाजन नभएकाले तत्काल अविश्वास प्रस्ताव दर्ता गरि हाल्ने पक्षमा कांग्रेस छैन । प्रधानमन्त्रीको राजीनामापछिको सत्ता समिकरणमा कांग्रेस निर्णायक भूमिकामा रहने प्रस्टै छ ।

तर, नेकपा विभाजनले कानुनी मान्यता नपाएको अहिलेको अवस्थामा कांग्रेस पर्ख र हेरको स्थितिमा नै रहेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । संसद पार्टीको भूमिका के हुने भन्ने बारे कांग्रेस तयारी अवस्थामा रहेको उनको भनाई छ ।

संसदको तेस्रो ठुलो दल जनता समाजवादी पार्टी पनि काँग्रेस जस्तै जसपा पनि पर्ख र हेरको अवस्थामा नै छ । जसपा महासचिव लक्ष्मणलाल कर्णले भने,‘नेकपा कानुनत विभाजन भइसकेको छैन । यस्तो स्थितिमा कुनैपनि समुहलाई साथ दिन सकिदैन । आजको संसद बैठकमा उनीहरुको भूमिका कस्तो हुन्छ त्यही अुनसार हाम्रो पार्टी अगाडि बढ्छ ।’

दलहरुको अनुमान विपरित प्रधानमन्त्रीको राजीनामा र अविश्वास प्रस्ताव सम्बन्धमा आइतबार प्रक्रिया अगाडि नबढी बैठक स्थगित हुने सम्भावना पनि छ । संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा अविश्वास प्रस्ताव वारे उल्लेख छैन । बाहिर हल्लाभए जस्तो नभएर सामान्य अवस्थामा नै आइतबारको बैठक सञ्चालन हुने संसद सचिवालयले दावी गरेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *